मोरङ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागीय मन्त्री तथा सचिवहरुलाई हालै ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरुलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् । ‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ, अब कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ’ मुख्यमन्त्री राईले भने, ‘यस बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरू आजैबाट लाग्नुहोस् । यदि यो बजेट सफल ढङ्गले कार्यान्वयन गर्न सकेनौं भने जनताका सपना पूरा हुँदैनन्, समृद्धिको यात्रा पूरा हुँदैन ।’ मुख्यमन्त्री राईले बजेट कार्यान्वयन गर्न अलिकति पनि ढिला नगर्न निर्देशन दिए । ‘बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरु छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन’ मुख्यमन्त्री राईले भने, ‘व्यवस्थित ढङ्गले समस्या हल गर्दै अगाडि बढ्नुपर्छ । समयमै प्रदेश सरकारसमक्ष हस्तान्तरण हुनुपर्ने संरचनाहरु सङ्घीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन, यसको बारेमा हामीले सङ्घीय सरकारसँग बारम्बार संवाद गरिरहेका छौं, ती संरचनाहरु हस्तान्तरण हुनैपर्छ र हुन्छ ।’