उदयपुर । उदयपुरमा जिल्ला प्रशासन कार्यालय उदयपुरले घर टहरा भत्काई जग्गा खाली गर्न सूचना जारी गरेपछि सुकुम्बासीहरू चिन्तामा छन् । जिल्ला प्रशासनले साउन २ गते जारी गरेको सूचनामा एक महिनाभित्र निजी संरचना हटाउन पर्ने र ‘हटाउन नपर्ने भए’ एथेस्ट आधार प्रमाण ७ दिनभित्रमा पेश गर्न भनेपछि त्रियुगा नगरपालिका–१३ पुरानो गाईघाटको जनज्योती टोलका सुकुम्बासी चिन्तामा छन् । २०२८ सालदेखि बरुवा खोलाको बाढीसँग सामना गर्दै बगर ओगटेर बसेका सुकुम्बासी पूर्जा पाउने आशामा थिए । तर एक्कासी प्रशासनको चेतावनीपूर्ण सूचना आएपछि ७४ वर्षीय अडिमान मगर भन्छन्, ‘बज्रपात परेझैँ भएको छ ।’ नगरपालिकाको घरधुरी सर्भेक्षणमा परेको, घरधुरी कर तिरेको, सुकुम्बासी समस्या समाधान आयोगले परिचय–पत्र प्रदान गरेको कागजात छन् । अडिमान भन्छन्, ‘कसैको जग्गा हडपेर बसेका होइनौँ, रासोबासो छोड्दैनौं ।’ प्रशाशनको सूचनाका कारण झण्डै तीन दर्जन भूमिहीन सुकुम्बासी परिवार विचल्ली हुने अवस्थामा पुगेका छन् । पहुँच नपुग्दा उनीहरूको पुरानो भोगचलनको जग्गा कित्ता काट नभई हवाई मैदानको नाममा गएको जिल्ला भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तीमान राई बताउँछन् । गाईघाट ५ ख कित्ता नं. १०३ को १४ बिघा १६ कट्ठा १६ धुर जग्गामा प्राविधिक कारण देखाउँदै एयरपोर्ट नबन्ने भएपछि रङ्गशाला, कृषि बजार केन्द्र, मदन भण्डारी सभाहल लगायतका संरचना निर्माण भइरहेका छन् । जग्गा अतिक्रमण र माफियाको चलखेल भएको भन्दै प्रशासनले पुराना सुकुम्बासीलाई समेत एउटै घानमा पार्न नहुने भूमिअधिकारकर्मीहरू बताउँछन् । यदि हटाउनै पर्ने अवस्था आए उचित ठाउँको व्यवस्थापन नगरी हटाउन नहुने उनीहरूको भनाइ छ । भूमिहीन सुकुम्बासीमाथि अन्याय पर्ने देखिएपछि खबरदारीमा उत्रिउको भूमि अधिकार मञ्च उदयपुरकी अध्यक्ष विमला सुनुवारले बताइन् । ‘बरु छातिमा गोली थाप्न तयार छौँ, तर छाड्न तयार छैनौं,’ ६० वर्षीया दिलकुमारी बोटे भन्छिन्, ‘पुस्तौँ–पुस्ता देखिको बसोबास छाड्दैनौँ ।’ हवाई मैदानको जग्गा प्रति नगरपालिकाको गम्भिर ध्यान गएको छ । भने नगरपालिका र स्थानीय प्रशासन बीच समन्वय विनै सूचना जारी गरेकोले जनतामा त्रासदीको सिर्जना भएको दुःख व्यक्त गर्दै उक्त जग्गालाई नगरपालिकाको नाममा ल्याएर वास्तविक सुकुम्वासीहरुलाई पहिचान गरि व्यवस्थित गर्न कदम चाल्ने त्रियुगा नगरपालिको मेयर बलदेव चौधरीले बताए । उत्पन्न भएको समस्याको बारेमा सम्बन्धीत तह र निकायमा जानकारी गराई सकिएको र जनतालाई व्यवस्थित गर्ने दायित्व सरकार र स्थानीय सरकारको रहेकोले चिन्तित नहुन त्रियुगा नगरपालिकाको मेयर चौधरीले आव्हान गरेको छ । सार्वजनिक जग्गा संरक्षणका लागि सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए । सबै तिर हाइगुहार माग्दै गरेका सुकुम्वासीहरुले गत आइतबार जिल्ला प्रशासन कार्यालय प्रमुख कार्कीलाई ज्ञापनपत्र बुझाउदै आप्mनो ठाउँबाट नहटाईदिन आग्रह गरेको र पर्याप्त आधार प्रमाण नगरपालिकामा पेश गरेको जनाएको छ ।