उर्लाबारी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते उर्लाबारी स्थित सामुदायिक विकास मञ्चले मिनी रन प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो मंञ्चले गत बर्ष देखि प्रतियोगिताको आयोजना गर्न शुरु गरेको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितालाई यस क्षेत्रमा गौरवका साथ लिइने गरिएको छ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने सो प्रतियोगितामा प्रदेश नं.–१ प्रतियोगीहरू सहभागी हुने आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए । नगरपालिकाले युवा र खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि प्रतियोगितालाई सहयोग गर्ने र प्रतियोगितालाई विशेष गौरवका साथ हेरिने उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बताएका छन् । संस्थाको कार्यालय उर्लाबारी–६ सूर्यचौक देखि शुरु भई तरुणचौक, खोर्सानीबारी, आइतबारे, स्कुलडाँडा, उर्लाबारीचौक हुँदै महारुद्र शिवालय मन्दिर सम्मको ७.२ किमी दूरी पार गरी समापन गरिने आयोजक संस्थाले जनाएको छ । युवालाई रचानात्मक तथा उर्जाशील बनाई सामाजिक कार्यमा लाग्न हौसला होस् भनेर प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता तयारी समितिका संयोजक प्रभु दिलुङ्छा राईले बताएका छन् ।