ताप्लेजुङ। ताप्लेजुङको पूर्वी क्षेत्रको एक व्यस्त सडकको रूपमा रहेको दाहालगाउँ–सिनाम–खाम्दिम्बे–याम्फुदिन सडकको स्तरोन्नति गरिएपछि यातायात सञ्चालनमा सहज भएको छ । पाथिभरा याङ्वरक गाउँपालिकाको थुम्बेदिनस्थित काबेली पुलदेखि सिरिजङ्घा गाउँपालिकाको सिनाम डाँडागाउँ हुँदै खाम्दिम्बे–सिदुवाखोलासम्म सकडको स्तरोन्नति गरेपछि हाल यातायात सञ्चालनमा सहज भएको हो । एक दशकभन्दा अघिदेखि पाँचथरको थर्पू हुँदै ट्रयाक खुलाइएको दाहालगाउँ–सिनाम–तेल्लोक–याम्फुदिन–हेल्लोक सकडको भर्खरै काबेली पुलदेखि आम्बेगुदिनको सिदुवाखोलासम्म करिव साढे १२ किलोमिटर सकड स्तरोन्नति गरिएपछि यातायात सञ्चालनमा सहज भएको हो । सडक स्तरोन्नतिसँगै आम्बेगुदिनको हप्पुखोला, खाम्दिम्बे बजार र सिनाम डाँडागाउँबाट पाँचथर, इलाम हुँदै झापाको बिर्तामोडसम्म सञ्चालन हुने यात्रु तथा मालवाहक सवारी साधन सञ्चालनमा सहज भएको बताइएको छ । यस्तै तेल्लोक, हप्पुखोला, सिनाम डाँडागाउँ, पञ्चमी, थुम्बेदिन हुँदै सदरमुकाम फुङ्लिङसम्म सञ्चालन हुँदै आएका स्थानीय यातायात सेवामा पनि सहज भएको छ । सडकको स्तरोन्नति गर्नुअघि अत्यन्तै जोखिम मोलेर सवारी साधन चलाउँदै आउनु परेकोमा सडक स्तरोन्नति गरेपछि जोखिम पनि कम हुँदै गएको र सवारी साधन चलाउनलाई पनि सजिलो भएको चालक गोपाल विष्टले बताए । चालक विष्टका अनुसार वर्षाको समयमा सडक हिलाम्मे भई ठाउँ–गाउँमा गाडी फस्ने, गाडीको पत्ति भाँचिने, अन्य इञ्जिनहरू बिग्रिने लगायतका सास्ती खेप्दै आउनुपरेको थियो । अहिले उक्त सडकको स्तरोन्नति भएपछि यातायात सञ्चालनमा सहज भएको र सदरमुकाम फुङ्लिङदेखि खाम्दिम्बे बजार पुग्नलाई झण्डै चार घण्टा लाग्ने गरेकामा अहिले अढाइ घण्टामै पुग्न सकिने भएको विष्ट बताउँछन् । सडक सहज भएपछि पत्ति भाँचिदा र इञ्जिन बिग्रिएर पुनः मर्मत गर्दा लाग्ने खर्च जोगिएको पनि उनले बताए । त्यस्तै सिदिङ्बा ४ साब्लाखुका लक्ष्मी लिम्बूले सडकको स्तरोन्नति भएपछि हिलाम्मे सडकका कारण गाडी फसेर गाडीबाट ओर्लंदै र चढ्दै त, कहिले गाडी ठेल्दै र तान्दै यात्रा गर्नुपर्ने बाध्यता तत्कालका लागि हटेको बताए । लिम्बूले स्तरोन्नति गर्नुअघि सडकको हालतका कारण कुनै काम लिएर गाउँबाट बिहानै गाडी चढेपनि ठाउँ ठाउँमा फसेर समयमै गन्तव्यमा नपुग्दा कामै बिग्रने गरेको स्मरण पनि सुनाए । हाल सडकको स्तरोन्नति गरेपछि स्थानीयलाई ठूलो राहत पुगेको उनले बताए । उक्त सडक खण्डको १२ दशमलव ४ किलोमिटर सडक स्तरोन्नतिको कार्य सेवालुङ निर्माण सेवा प्रालिले गरेको हो । उन्नति परियोजनाको करिव सात करोड रुपैयाँ बजेटको लागतमा २०७३ साल भदौबाट स्तरोन्नतिको कार्य सुरु गरी २०७५ असार तेस्रो साताभित्र सम्पन्न गरिएको निर्माण कम्पनी सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूले बताए । नाली, कल्भर्ड, ग्याबिन, ग्राभेलसहित पाँच दशमलव २५ मिटर चौडाइको सडक स्तरोन्नतिको कार्य गरेको लिम्बूले जानकारी दिए । उक्त सडकको स्तरोन्नति गरिएसँगै जिल्लाको पूर्वी क्षेत्र साविक चाक्सिबोटे, थुम्बेदिन, सिनाम, आम्बेगुदिन, तेल्लोक, सिकैँचा, मामाङ्खे, याम्फुदिन, खेबाङ, सुरुम्खिम, मेहेलेलगायत दर्जन बढी गाउँका स्थानीय लाभान्वित भएका छन् । सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक लिम्बूले भने, ‘अब स्तरोन्नति गरिएको सडकको तत्काल कालोपत्रे (पिच) गरेमा दीर्घकालका लागि यातायात सञ्चालनमा सहज हुने थियो ।’ सडक कालेपत्रेका लागि स्थानीय सरकारका रूपमा रहेको सेवा प्रभावित क्षेत्रका स्थानीय तहहले बजेट विनियोजन गरे पनि पुग्ने बताइएको छ ।