पथरी ।  मोरङ कानेपोखरी –४, स्थीत त्रिवेणी चौकका ३५ बर्षिय बिष्णु मुसहरको  देब्रे हात चट्ट छिन्ने गरी मेसिनले काटेपछि बैदेशीक रोजगारको लागी खाडी मुलुक दुवई(युएई) जाने तयार उनको विदेश यात्रा र श्रमगरिखाने बाटो सदाको लागी टुङ्गीएको छ ।

 २०७३ चैत २६ गतेका दिन ट्याक्टर ठेसरमा काम गरिरहेको बेलामा ठेसरले हात छिनाए पछि अरुको घरमा श्रम नगरी घरमा चुल्हो नबल्ने  बिष्णुको परिवारमा अहिले  कष्टकर बनेकाे छिमेकीहरू बताउने गर्दछन्।

पिङ्डाडाको दिपक घिसिङको ट्रयाक्टरमा श्रम गर्दा गहुँको मुठोसंगै हातमा लगाएको पञ्जा बेरिएर मेसिनमा छिरेपछि देब्रे हात चट्टै त्यही काटेको थियो । रमाइलो हस्पिटलमा प्राथमिक उपचार पछि धरान स्थीत विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा १५ दिन उपचार गरि घर पर्केका थिए ।

ट्रयाक्टर धनि दिपक घिसिंङले घर बनाई दिने र बर्षेनी धान दिने सर्तमा इलाका प्रहरी कार्यालय पथरीमा मिलापत्र गरेको बिष्णु बताउँछन् ।

घटना हुनु भन्दा अघि उनि वैदेशिक रोजगार कतारबाट भखरै घर फर्केका  थिए । कतारमा कमाई नभएकै कारण दुई बर्ष नबित्दै बिना पैसा घर फर्केका उनि कतार जानुभन्दा पहिले  ट्रयाक्टर साहु दिपककोमा ३ बर्ष लेभर र डाईभर काम गरिसकेका थिए ।

ऋण खोजेर घर बनाउँदै गरेकै समयमा अाफ्नाे श्रम गर्ने हात ठेसरले काटे पछि पुन: मजदुरीमा फर्कन नसक्ने भएपछि उनलार्इ  मजदुरीकाे लागि बाेलाउन छाडे संगै उनकाे परिवारकाे दैनिकि निकै कष्टकर बनेकाे छ ।

घरमा श्रीमती पार्वती र दुई वटा छोरीहरू काजल र करिष्मा  ७ र ९ बर्ष लागेका छन् । ‘परिवार पाल्न गाह्रो भयो अब के गर्नु ? साहुले कृतीम हात लगाई दिन्छु भन्नु भाको छ तर लगाई दिनु भएको छैन ।’ बिदेश गएर धन कमाउने सपना बाेकेका बिष्णु अाफू अब परिवारकाे खर्च धन्न नसक्ने भएपछि आँखाभरी आँसु पार्दै  समस्या सुनाउने गर्दछन् ।

ट्रयाक्टर मालिक दिपक घिसिङले घटना पछि पीडितको ऋण सबै तिरेर बाँकी रहेको घर बनाई दिएको र मिलापत्र अनुसारकाे सहयाेग तथा रेखदेख गर्दै अाएकाे बताउँछन् ।