कृषिको उत्थानमा पर्याप्त चासो नदेखाएको आरोप लागिरहेको बेला नगरपालिकाले किसानको ढाड सेक्ने गरी कर नीति सार्वजनिक गरेको स्थानीयले आरोप लगाएका  छन् । 

बिर्तामोड । कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने बजेट ल्याएको बताउने अर्जुनधारा नगरपालिकाले किसानले निर्माण गरेर बिक्रीका लागि बजार ल्याउने डोकोमा पनि कर लगाउने निर्णय गरेको छ । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार किसानले नगरक्षेत्रका हटियामा बिक्रीका लागि ल्याएको डोकोमा कर लाग्ने भएको हो । अबदेखि एउटा डोको बिक्रीवापत् किसानले नगरपालिकालाई १ रुपैयाँ कर तिर्नु पर्ने भएको छ । चित्रा, भकारीमा ३ रुपैयाँ असुल्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट पुस्तिकामा ‘चुर’ खाने पेपरमा पनि प्रति रिम ७ रुपैयाँ कर लाग्ने भएको छ । यसैगरी खाली टिनबाट ५ रुपैंया असुल्ने नगरको योजना रहेको छ । जबकी खाली टिनको बजार मूल्य २० रुपैयाँ मात्र रहेको व्यापारी बताउँछन् । कुखुरामा ३, परेवामा २, बाख्रामा ७, पाठामा ७, गाइगोरुमा १० रुपैंयाँ असुल्ने योजना नगरपालिकाको रहेको छ । बाँस प्रतिघना २ रुपैयाँ, चामल प्रतिक्विन्टल ५ रुपैयाँ, मकैको च्याख्ला २ रुपैयाँ क्विन्टलमा सङ्कलन गरिने कर नीति अर्जुनधाराको रहेको छ । कृषिको उत्थानमा पर्याप्त चासो नदेखाएको आरोप लागिरहेको बेला नगरपालिकाले किसानको ढाड सेक्ने गरी कर नीति सार्वजनिक गरेको हो । झापाका अन्य १४ ओटा स्थानीय तहले हालसम्म करको दर र दायरा सार्वजनिक गर्न सकेका छैनन् ।