इटहरी । ट्राफिक प्रहरी र इटहरी उपमहानगरपालिको लापरबाहीले लामो समयदेखि इटहरी बजार क्षेत्रको पार्किङको समस्या ज्यूँको त्यूँ छ । मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ । निजी सपिङ कम्प्लेक्सहरूले आफ्नो पार्किङ स्थल निर्माण गर्नुपर्छ । शहरको मुख्य चोक र कालोपत्रे क्षेत्रमै यसरी पार्किङ गरिँदा इटहरी क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बन्दै गएको छ । नियामक निकाय र स्थानीय सरकारले ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सकेको छैन । इटहरीमा साना भाडाका सवारीहरूको पार्किङ स्थल इटहरी पश्चिम लाइनको मुख्य चोक हुन पुगको छ । कालो नम्बर प्लेटका भाडामा सञ्चालन हुने सवारी साधन रातो नम्बर प्लेटका निजी सवारी भाडामा लाउन पार्किङ ंस्थलमा पार्क गर्दै आएका कारण समस्या हुँदै आएको ट्याक्सी ब्यावसायी सङ्घ इटहरीका पूर्व अध्यक्ष नेत्र भुजेल बताउँछन् । उपमहानगरपालिका भएपछि इटहरी अझ विस्तार भएको छ । बढ्दो शहरी चाप उपमहानगरपालिकालाई टाउको दुखाइ भएको उपमेयर लक्ष्मी गौतम बताउँछिन् । पार्किङ अभावको कारण इटहरी कुरुप बन्न थालेपछि ट्राफिक व्यवस्थापन गर्न लागेको उनी बताउँछिन् । ‘पछिल्लो समय पूर्वकै कारोबारलाई लक्षित गर्दै खुलेका व्यापारिक कम्प्लेक्स तथा बैङ्किङ क्षेत्रहरू एकपछि अर्को गर्दै खुल्ने क्रम तीव्र छ, सोही अनुरुप मानिसहरूको चाप पनि बढ्दो छ ।’ उपमेयर गौतम भन्छिन् ।
ट्राफिक व्यवस्थापनमा कार्यदल इटहरीको मुख्य बजारमा गरिने पार्किङले समस्या हुँदै आएको शुक्रबार इटहरी उपमहानगरपालिकामा भएको छलफलमा अधिकांश वक्ताले बताए । पार्किङकै कारण इटहरी कुरूप बनेको उनीहरूको निश्कर्ष थियो । इटहरीको पार्किङको समस्यालाई व्यवस्थित बनाउन इटहरी–६ का वडाअध्यक्ष दीपक गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यदल गठन भएको छ । बढ्दो व्यापारिक कारोबार तथा आवागमनले इटहरी पूर्वकै प्रमुख शहरको रूपमा विकास हुँदै गएकाले सवारी आगमनलाई सहज बनाउन कार्यलदल गठन भएको संयोजक दीपक गौतमले बताए । कार्यदलले ७ दिन भित्र पार्किङ समस्या र सामाधानका लागि कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने छ । इटहरीमा पार्किङ अभावले समस्या भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी राजकुमार लम्साल स्वीकार गर्छन् । ‘जथाभावी पार्किङ गरेर सवारी सधान राखेका कारण हामीले बाटोमा पार्किङ अभियानसँगै कारबाही पनि गर्न थालेका छौँ ।’ एसपी लम्सालले भने । सवारीको चापलाई मध्यनजर गर्दै छुट्टै ट्राफिक खटिएका भएपनि चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् ‘बढ्दो सवारी चापलाई लक्षित गर्दै अल्पकालीन तथा दीर्घकालीन पार्किङ स्थलको व्यवस्था गर्न नसक्नु पनि कमजोरी हो ।’ उनी भन्छन् ।