ताप्लेजुङ । आगामी छ महिना भित्र ताप्लेजुङ लाई पूर्णखोप युक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।
जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालयले अभियानलाई तीव्र बनाउने जनाएको छ । जिल्ला स्वास्थ्यकार्यालय ताप्लेजुङले पूर्ण खोपयुक्त घोषणा अभियानकालागि सम्बन्धित वडासँग समन्वय र सहयोग माग्ने तयारी गरिरहेको छ । जिल्ला स्वास्थ्यप्रमुख डाक्टर सचिन यादवले छ महिना भित्र ताप्लेजुङलाई पूर्ण खोप युक्त जिल्ला घोषणाको तयारी थालिएको जानकारी दिए ।
स्वास्थ्य प्रमुख यादवका अनुसार हालसम्म जिल्लाका ६१ वटा वडामध्ये ५८ वडा पूर्ण खोपयुक्त भइसकेका छन् ।डाक्टर यादवले बाँकी रहेका १३ वटा वडामा पनि प्राविधिक पक्षका सबै प्रक्रिया पूरा भएको तर, केही प्रक्रियागत समस्याका कारण घोषणा हुनभने नसकेको जानकारी दिए । अब सम्पूर्ण प्रक्रिया पूरा गर्ने कार्यको दायित्व स्थानीयतह र सम्बन्धित वडा कार्यालयको हुने यादवको भनाइ छ ।
उहाँका अनुसार पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं. १ नाङ्खोल्याङ, फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम, ४ इखाबु, ५ तापेथोक, ६ लेलेप र वडा नं. ७ ओलाङ्चुङगोला पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । यस्तै सिरीजङ्घा गाउँपालिकाको वडा नं. २ सिनाम, ३ सिकैंचा र वडा नं. ४ तेल्लोक र मैवाखोला गाउँपालिकाको वडा नं. ३ र ४ साँघु बाँकी रहेको छ । खोपयुक्त वडा घोषणा हुनबाँकी रहेको अवस्थालाई हेर्दा फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. १ बाहेक सबै वडा रहेकाले अरुभन्दा बढी समय उक्त गाउँपालिकामा खर्चिनुपर्ने भएको जिल्लाखोप समन्वय समितिको बुझाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समिति अध्यक्ष घनेन्द्र मादेनले पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा सबै वडाले सहयोग गर्नुपर्ने बताए । खोपयुक्त क्षेत्र विकासको सूचाङ्कको एउटा नमूना भएकाले घोषणा हुन बाँकी रहेका वडाले यो अभियानलाई प्राथमिकता दिनमादेनले आग्रहगरे ।यता जिल्ला जनस्वास्थ्य अधिकृत दीपक अधिकारी पूर्ण खोपयुक्त बनाउने अभियानको अग्रसरता स्थानीयतहले लिए आफूहरु प्राविधिक सहयोगका लागि तयार रहेको बताउँछन् । अधिकारीले केही वडा खोपयुक्त हुन नसक्दा जिल्लाकै स्वास्थ्य सूचक प्रभावित हुने भएकोले यसमा सम्बन्धित स्थानीय सरकारका वडाहरुले गम्भीरता र संवेदन शिलता अपनाउनुपर्ने बताए ।
जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीले ७० प्रतिशतभन्दा बढी क्षेत्र पूर्ण खोपयुक्त भइसकेको जिल्लालाई अब ३० प्रतिशतले रोक्न नहुने बताए । भण्डारीले सबैको ध्यान पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा केन्द्रित हुनुपर्नेमापनि जोड दिए ।
पाँच स्थानीयतह पूर्ण खोपयुक्त क्षेत्र ताप्लेजुङका नौ स्थानीयतह मध्ये पाँचवटा पूर्ण खोपयुक्त भइसकेको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख डा. यादवका अनुसार फुङ्लिङ नगरपालिका सहित मिक्वाखोला, मेरिङ्देन, सिदिङ्वा र आठराई त्रिबेणी गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । २०७२ साल माघ २५ गते पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बूलाई साविकको पहिलो पूर्ण खोपयुक्त गाविस घोषणा गरेर अभियानको सुरुवात भएको थियो । हाल थेचम्बु पाथीभरा याङ्वरक गाउँपालिकाको मुकाम (केन्द्र) हो ।