धनकुटा ।  पाख्रिवास नगरपालिका–९ उत्तरपानेमा बहुला कुकुरको टोकाइबाट ५ वर्षीया बालिका प्रिति घिसिङ गम्भीर घाइते बनेकी छन् । हजुरबुबा झमकको घरमा जाने क्रममा मङ्गलबार बिहान बहुला कुकुरले टोक्दा उनी गम्भीर घाइते बनेकी हुन् । कुकुरले टोकेर बालिकाको दायाँ गालाको भागको मासुको चोक्टा नै निकालेको छ । घाइते बालिकालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइए पनि सामान्य उपचारपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हजुरबुबा झमकले नातिनी खतरामुक्त रहेको बताए । दुई साताअघि एकैदिन ५ जनालाई बहुला कुकुरले टोकेको थियो । पाख्रीवास–९ का स्थानीय धनवहादुर तामाङले भने, ‘हिजो–आज वहुला कुकुरको आतङ्क जताततै छ, कस्ले नियन्त्रण गर्ने, कस्लाई भन्ने ? विशेष गरेर केटाकेटी, वृद्धवृद्धालाई कुकुरले टोकिरहेको छ ।’ बहुला कुकुर नियन्त्रणका लागि नगरपालिकाले तत्काल कदम चाल्नु पर्ने उनले बताए ।