बिर्तामोड । दुर्घटनामा निधन भएका अग्रज पत्रकार गोपिकृष्ण खनालको तेह्रौं दिनको पूण्य तिथिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को स्थापना गरिएको छ  । उक्त प्रतिष्ठानले खनालले गरेको पत्रकारितालाई जीवन्त बनाउन यो क्षेत्रमा लागि पर्ने राष्ट्रिय अन्तराष्ट्रिय योगदान पु¥याउने व्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गरिने छ । प्रतिष्ठानको गठन, पुरस्कारको राशी, विधान निर्माण र कार्यक्रम पछि तय गरिने पारिवारिक स्रोतले जनाएको छ । झापाका अग्रज पत्रकार खनालको बिर्तामोडस्थित महेन्द्र राजमार्गअन्तर्गत रामचौकमा जीपले उनी चढेको साइकललाई ठक्कर दिँदा घाइते भएका थिए भने अस्पतालमा शल्यक्रियाको क्रममा उनको साउन ४ गते निधन भएको थियो । खनालका जेठा छोरा अमेरिका निवासी सञ्चारकर्मी मनोज खनालले आफ्ना बुबाको नाममा पुरस्कार स्थापना गरेका हुन् । स्वर्गीय खनालको पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने योजना बनाएको मनोजले जानकारी दिए । पत्रकार खनालको तेह्रौ दिनको पूण्य तिथिमा उनकी श्रीमति रुपीदेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । दिवंगत खनालले २०२८ सालदेखि मोफसलमा प्रकाशित भएका नेपाली भाषा र साहित्यका विभिन्न पुस्तक, पत्रपत्रिकाहरू सङ्कलन गरेका र उक्त पुस्तकहरू रहेको पुस्तकालयको समेत प्रतिष्ठानले संरक्षण र सम्वद्र्धन गर्ने सोच बनाएको खनालका आफन्त एवम् पत्रकार तीर्थ सिग्देलले जानकारी दिए । खनालद्वारा लिखित अप्रकाशित पुस्तकको पनि प्रतिष्ठानले प्रकाशन गर्ने योजना बनाएको बताइएको छ ।