भद्रपुर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाई बहुमतको सरकारले दम्भको श्रीपेच हटाइ जनताको काममा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा काङ्ग्रेसको शक्ति प्रर्दशनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । स्वर्गीय मदन भण्डारीले देखाएको बाटो बिर्सिंदै कम्युनिस्ट सरकारले लोकतन्त्र माथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए । भण्डारीको नाममा सडक बनाउने तर, उनले देखाएको मार्ग कम्युनिस्ट सरकारले छोडेको शर्माको भनाइ थियो । ‘तपाईंकै मन्त्री मण्डलका गृहमन्त्रीले भन्नु भएको थियो कि सुन तस्करमाथि हात हाल्दा ठूला माछाहरू पक्राउ पर्छन, खै त ठूला माछाहरू पक्राउ परेका अहिलेसम्म प्रधानमन्त्री ज्यू ? शर्माले सोधे । त्यसैगरी नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको स्वाधीनताको रक्षाको लागि सडकबाट सरकारलाई खबरदारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई केन्द्रित गर्दै सिटौलाले धेरै नमात्तिन आग्रह गरे । सदरमुकाम भद्रपुरस्थित मेची रङ्गशाला अगाडिको खुल्ला चौरमा भेला भएका काङ्ग्रेसका कार्यकर्ताले ओली सरकार विरुद्ध नाराबाजी गर्दै सरकारी कार्यालय अगाडिबाट लेखनाथ चोक हुँदै चन्द्रगढी बजार परिक्रममा गरी कोणसभा गरेका थिए ।