धरान । ‘मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन’ हाम्रो समाजमा प्रचलित भनाइ तेह्रथुम ओयाक्जुङ–५ का देव बास्कोटाको हकमा भने लागू हुँदैन । वैदेशिक रोजगारीमा रहेका उनी गाउँको मुहार फेर्न कुनै कसर बाँकी राख्दैनन् । कुनै बेला आर्थिक अभावका कारण समयमा उपचार गराउन नसक्दा आमा गुमाएका उनी अहिले समाजसेवामा तल्लीन छन् । वैदैशिक रोजगारीको क्रममा साउदी अरेवियाबाट हाल इजरायलमा रहेका उनी विदेशबाटै समाजसेवामा तल्लीन भएका हुन् । गीत–सङ्गीतको क्षेत्रमा पनि उनी सङ्र्घषरत छन् । प्रवासमा रहेरै उनले सामुदायिक विद्यालय, सङ्घ–संस्था, व्यक्ति तथा कार्यक्रममा झण्डै ३५ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । केही समयअघि मात्रै उनले मृगौला पीडित तेह्रथुम सिम्लेका गोपाल निङ्लेकुलाई आर्थिक सहयोग गरेका थिए । उनी आफैले अध्ययन गरेको फेदाप–२ साविक ओयाक्जुङ–९ को सिद्धकाली माविलाई पूर्वविद्यार्थीहरूबाट सङ्कलन गरेर उनले ६ लाख २४ हजार रुपैयाँ सहयोग गरेका थिए । जतिखेर उनले आमा गुमाए, त्यो बेला नै उनले आफूले सक्ने सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता अहिले पूरा गरिरहेका छन् । बास्कोटा पत्रकारितामासेत संलग्न छन् । उनले हालसम्म ‘कस्तो रहिछ जुनी, ‘तेह्रथुम सिंहबाहिनी’, ‘काँडेतारको जाली’, ‘पीपलछेउमा वर’, ‘पोहोरको चोली’ लगायतका एल्बम् सार्वजनिक गरिसकेका छन् ।