भद्रपुर/हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५।७६ का लागि ४४ करोड ४८ लाख ८५ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । दोश्रो गाउँ सभाबाट पारित गरिएको तथा आव २०७४/०७५ मा प्रस्तावित सो वजेट संशोधन सहित आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो । बुधबार आयोजना गरेको वार्षिक बजेट तथा निति कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा क्षेत्र नम्बर ३ झापाका सांसद राजेन्द्र लिङ्देनले सार्वजानिक गरेका थिए । सार्वजानिक गरेको बजेट पुस्तिकामा वित्तिय समानीकरण अनुदान ९ करोड ८० लाख,आन्तरिक आय १ करोड ६४ लाख,सर्शत अनुदान प्राप्त ११ करोड ३८ लाख,रजिष्ट्रेशन तथा श्रोत बाँडफाँड ३ करोड ९ लाख ८५ हजार अनुमानित आम्दानी राखेको छ । त्यसैगरी प्रदेशबाट वित्तिय समानीकरण अनुदान ३५ लाख,राजस्व बाँडफाँड ६ करोड ३५ लाख,प्रदेशबाट प्राप्त हुने सशर्त अनुदान १ करोड,सामाजिक सुरक्षा ८ करोड ६९ लाख र सम्पत्ति बिक्री २ करोड आयको अनुमान गरेको उल्लेख छ । वर्षका निति तथा कार्यक्रममा हल्दीबारीको दृष्टि,कृषि र पर्यटन मार्फत समृद्धिका लागि आठओटा मूख्य योजनाहरु अघि सारेको छ । पुस्तिकामा उल्लेख भएअनुसार पूर्वको पर्यटकीय स्थल,हल्दीबारी र जलथल,हल्दीबारीको बाचा झापाभरी माछा,साहित्यिक मन कृषि र पर्यटन,हल्दीबारीका महिला विकासमा पहिला,फेरी पनि घुम्नजाऔं हल्दीबारी गाउँ,किसानको खुशी पशुपालन र कृषि,मैले तिरेको कर गाउँपालिकाको भर, र समृद्धिका पालक हल्दीबारीका बालक मुल योजनमा राखी अन्य एक सय ओटा बुद्धामा समेत कार्यक्रम समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष रबिन्द्र कुमार लिङ्देनको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लिङ्देनले कार्यशैलिमा गाउँपालिकाको भाग्य कोरिने भएकोले नियममा रहेर जनताको खुन र पसिना नखाई काम गर्नु पर्ने सुझाव दिएका थिए । केन्द्रको अधिकार तल्लो तहमा क्रमश आइरहेकोले आफनो गाउँ आफै बनाउनलाइ अघि सार्नु पर्ने उनको धारणा थियो । कार्यक्रममा प्रदेश सांसद तथा क्षेत्र नम्बर ३ ख का पूर्ण सिं राजवंशी, संविधान सभाका पूर्व प्रतिनिधि मोहन टुडू, राजनीतिक दलको तर्फबाट नविन मैनाली ,जग्गा दाताको तर्फबाट सरोज थापा,पत्रकार गणेश पोखरेलले बोलेका थिए । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा २ विगाहा जग्गा दान गर्ने तील प्रसाद सुवेदी,माइतीराज राई,भूपाल लिम्बू,सन्तोष माङ्दीम,खर्कमाया सामसुहाङ् र सरोज थापालाई सम्मान गरिएको थियो । उनिहरुलाइ गाउँपालिकाले लिने सम्पूर्ण कर चार वर्षसम्म छुट गरेको घोषणा गरिएको थियो । त्यसैगरी कार्यालयमा रहेर सर्वोत्कृष्ठ काम गरेबापत खरिदार नारायण दाहाललाइ २५ हजार र उत्कृष्ठमा लेखापाल दिपकचन्द्र आचार्यलाइ २० हजारनगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको थियो । गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले गरेका थिए ।