[caption id="attachment_46589" align="aligncenter" width="600"] फायलफाेटाे[/caption]

काठमाडौँ/  हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो ।

तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपी (eir.nta.gov.np) मा लग इन गर्नुपर्नेछ । यसरी लग इन गरिसकेपछि त्यसको तलपट्टी रहेको साइन अप बटन क्लिक गर्नुपर्नेछ ।

त्यसपछि तपाइँलाई दुईवटा विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये मोबाइल हराएको अवस्थामा रातो रङको पृष्ठभूमिमा लेखिएको ‘इन्डिभिजुअल एप्लिकेसन’मा क्लिक गरेपछि त्यहाँ उल्लेख विवरण भर्नुपर्ने छ ।

विवरणमा मोबाइलको आएमईआई, इएसन अथवा एमइआईडी नम्बरमध्ये कुनै एक उल्लेख गर्नुपर्नेछ । त्यस्तै हराएको मोबाइलको ब्रान्ड नाम, मोडल नम्बर पनि त्यहाँ आवश्यक पर्छ । एकै पटक दुईवटा मोबाइल हराएको छ भने पनि त्यसको विवरण भर्न सकिने सुविधा उक्त अनलाइनमा रहेको छ ।

हराएको व्यक्तिले यसरी अनलाइन दर्ता गर्दा आफ्नो नागरिकता, पासपोर्ट अथवा परिचय खुल्ने कार्डको स्क्यान कपी भने राख्नुपर्नेछ । अन्त्यमा इमेल राखेर त्यसलाई सबमिट गरेपछि त्यो खोज्ने प्रक्रियामा अघि बढ्छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यसरी प्रयोगकर्ताले उपलब्ध गराएको जानकारी दूरसञ्चार सेवा प्रदायकसम्म पुर्याइन्छ । सेवा प्रदायकले पनि उक्त मोबाइल प्रयोगमा रहेको अवस्थामा पत्ता लगाउन सजिलो हुने भएकोले त्यहाँ पहिले उक्त जानकारी उपलब्ध गराइएको उनले बताए।

गोरखापत्रबाट ।