बराहक्षेत्र । प्राथमिक स्वास्थ्य केन्द्र चतरा यस क्षेत्रकै सुविधा सम्पन्न र प्रविधि भएको केन्द्रका रुपमा छ । नगरका मात्र होइनन्, धनकुटा, उदयपुर र भोजपुरका दक्षिणी क्षेत्रका सेवाग्राही पनि प्राथमिक स्वास्थ्य केन्द्र चतरामा आश्रित छन् । ‘धरानसम्म पुग्न नसक्ने विपन्नहरूले समेत स्वास्थ्य बिमालगायतका स्वास्थ्य सेवा यहाँबाट प्राप्त गरेका छन्,’ अध्यक्ष भट्टराई भन्छन्, ‘सिफारिसे अस्पतालका रुपमा काम गरिरहेका छौँ ।’ यद्यपि यहाँ प्रविधि सम्पन्न भए पनि प्राविधिकको अभाव रहेको भट्टराई स्वीकार्छन् । उनी भन्छन्, ‘रेडियोग्राफी छ, रेडियोग्राफर छैनन् ।’ स्वास्थ्य केन्द्रमा सबै प्रकारका ल्याब टेस्टहरू हुने गरेको छ । सुविधा भएर पनि त्यसको उपभोग स्थानीयले गर्न नपाएको उनी बताउँछन् । ‘विशेषता भएर मात्र हुँदैन, विशेषज्ञ पनि हुनु प¥यो ।’ अध्यक्ष भट्टराई भन्छन् ।

स्वास्थ्य केन्द्रलाई भवन हस्तान्तरण वराहक्षेत्रको चतरा प्राथमिक स्वास्थ्य केन्द्रले चिकित्सकको अवासीय सुविधाका लागि निर्माण गरेको भवन हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीले बुधबार स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलगायतलाई भवन हस्तान्तरण गरेको हो । १ करोड २४ लाखको लागतमा निर्माण भएको आवासमा ४ परिवार बस्न सक्ने अध्यक्ष भट्टराईले जानकारी दिए । ३ जना चिकित्सकको दरबन्दी भएको स्वास्थ्य केन्द्रमा हाल ४ जना चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । ‘एक जना काजमा हुनुहुन्छ ।’ अध्यक्ष भट्टराईले भने । ‘डाक्टर क्वाटर’को संरचना निर्माण भएपनि त्यहाँ आवश्यक फर्निचरको व्यवस्थापन गर्न स्वास्थ्य संस्था सञ्चालक समितिलाई अप्ठ्यारो परेको छ । ‘फर्निचरको नाउँमा एउटा मुढा पनि छैन, कसरी व्यवस्थापन गर्ने हो, समस्या छ,’ अध्यक्ष भट्टराईले भने, ‘अभावको कुरो भयङ्कर छ ।’