पथरी । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेको दुई वटा खोलामा भएको अवैध उत्खनन् रोकिएको छ । नगरपालिकाको तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य वस्तु अवैध उत्खनन् कार्य रोकिएको हो । मङ्गलबार ब्लाष्ट दैनिकमा ‘सांसद्कै गाउँमा खोला दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उत्खनन् बन्द भएको हो । अवैध उत्खनन्बारे प्रदेश सांसद् उपेन्द्र घिमिरेले उत्खनन् बन्द गर्ने बताएका थिए । अहिले लेटाङका दुवै खोलामा उत्खनन् बन्द भएको बताउँदै सोही गिरोहले चिसाङ खोलाबाट फेरि उत्खनन् शुरु गरेको सांसद् घिमिरेले बताए । उता वडा नं. ९ का वडाध्यक्ष कृष्ण लुइटेलका अनुसार अहिले गाउँमा खोला बन्द छ । पत्रिकाले स्थलगत अध्ययन गरी सबैलाई सूचना गरेर राम्रो काम गरेको उनको भनाइ छ । असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना उत्खनन् कार्य पूर्ण बन्द रहने गरेको छ । तर अहिले तस्करहरूको गिरोहले स्टकको माल भन्दै सेटिङमार्फत् राता–रात अवैध गिट्टी, ढुङ्गा र बालुवाजन्य पदार्थ निकासी गरिरहेको छ । लेटाङ–९ जाँतेमा पर्ने तेली खोलामा स्काभेटर प्रयोग गरी दैनिक गिट्टी, ढुङ्गा र बालुवा तस्करी हुने गरेको थियो । त्यतिमात्र होइन बिहान ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ट्रयाक्टरमार्फत् खोलाबाट ढुङ्गा निकासी गरी जाँतेको घर–घरमा स्टक गर्ने गरेका थिए । अहिले त्यो सबै बन्द भएको वडासदस्य इन्द्र ढकाल बताउँछन् । जिल्ला समन्वय समिति मोरङबाट सेटिङ मिलाएर व्यवसायीहरूले ८० देखि १ सय टिपर निकासी गरेको कागज मिलाएर स्टकको माल भन्दै १६ सयभन्दा बढी टिपर निकाल्ने गरेका थिए । जिससले यो शून्य समयमा व्यवसायीहरूलाई ८० टिपरदेखि १ सय टिपरको प्याकेज दिनाले व्यवसायीहरूलाई तस्करी गर्न सहज भएकाले त्यस्ता काम रोक्नु पर्ने सांसद् घिमिरेले बताए ।