बेलबारी । वर्षात्को समयमा विद्युत् सेवा नियमित नहुँदा मोरङको केराबारी गाउँपालिकाका बासिन्दा समस्यामा पर्दै आएका छन् । सामान्य मेघ गर्जंदा र पानी पर्दासमेत विद्युत् आपूर्ति बन्द हुँदा केराबारीका बासिन्दाहरू मर्कामा पर्दै आएका हुन् । केराबारीमा रहेको फ्युज सेण्टर भए तापनि कर्मचारी छैनन् । तसर्थ एउटा फ्युज जाँदासमेत त्यसको मर्मतको लागि बेलबारी सम्पर्क गर्नुपर्ने र त्यहाँबाट पनि ढिलासुस्ती हुँदा समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ । खोर्सानेदेखि करिब ९ किलोमिटर उत्तरमा रहेको केराबारी बजारमा वर्षात्को समयमा पानी पर्ने र रुखका हाँगा झर्दा तार चुँडिएर विद्युत् आपूर्तिको समस्या झेल्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । त्यसलाई मर्मत गर्न प्राधिकरणले ढिलासुस्ती गरिदिने जस्ता समस्याका कारण केराबारीवासी पीडित रहेको छ । पछिल्लो समयमा विद्युत् उपभोक्ता र विभिन्न उद्योगहरुको विस्तार सँगै विद्युत्को ट्रान्सफर्मर क्षमता नथप्दा पनि समस्या उत्पन्न भएको छ । केराबारी गाउँपालिका अन्तर्गत पर्ने सिंहदेवी, याङ्शिला, डाँगीलगायतको क्षेत्रमा विद्युत्का सेवाग्राहीहरुले हैरानी खेप्नुपरेको केराबारीका उपभोक्ताहरुले बताएका छन् । विद्युत् मर्मतको लागि फोन गरे तापनि फोन नउठ्ने, फोन उठे पनि पहिले अरुतिर काम सकेर मात्र प्राविधिक आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । त्यसैगरी विद्युत् सेवा सहज र सरल नभएको, विद्युत् सेवा लिनभन्दा बढी सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासी सहितको टोलीले सोमबार विद्युत् प्राधिकरण बेलबारीका कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका छन् । युवासङ्घ नेपाल र वाईसिएल नेपालको नेतृत्वमा गएको स्थानीय बासिन्दाको टोलीले कार्यालय प्रमुख विनोदकुमार यादवसँग भेट गरी विद्युत् समस्या सुनाउँदै ७ बुँदे मागपत्र बुझाएको युवासङ्घ नेपाल केराबारीका अध्यक्ष विवेक भूजेलले बताएका छन् । ज्ञापन–पत्रमा यथाशीघ्र ट्रान्समिटरको क्षमता वृद्धि गर्न, तत्काल फ्युज सेवा सुचारु गर्न, केराबारीका विभिन्न टोल बस्तीहरुमा अव्यवस्थित रूपमा रहेका पोल तथा तारहरु व्यवस्थित गर्नसमेत माग गरिएको वाईसिएल नेपालका प्रदेश सचिव खगेन्द्र सुवेदीले बताए । केराबारी, खोर्साने, जङ्गलमा हावाहुरीको समयमा विद्युत् अवरुद्ध हुन नदिन फाइवर तथा अण्डरग्राउण्ड सिस्टमबाट विद्युत् लाइन सप्लाइको आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायमा पेश गर्न माग गरेका छन् । कार्यालय प्रमुख विनोदकुमार यादवले भने आफ्नो स्रोतसाधनले भ्याउने र गर्नसक्ने जति सबै काम हप्तादिनभित्र गर्ने र बाँकी काम सम्बन्धित विभाग र कार्यालयमा फाइल पठाउने आश्वासन दिए । यादवले फ्युज सेवा माग गर्दै आएकोप्रति सकारात्मक रूपमा लिएको र विद्युत् महसुल अनलाइन सिस्टममा गर्न आवश्यक व्यवस्था गर्न सकारात्मक रहेको बताएका छन् ।