धनकुटा । उच्च अदालत विराटनगर, धनकुटा इजालासले आव ०७४/०७५ को असार मसान्तसम्ममा ७८.८६ प्रतिशत मुद्दा फस्र्यौट भएको जनाएको छ । उच्च अदालत धनकुटा इजलासले बुधबार पत्रकारकाबीच आव ०७४/७५ मा भएका लगत, फस्र्यौट र बाँकी मुद्दाको प्रगतिका बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जारी प्रेस–नोटमा रिट ३८ ओटा दायर भएकामा ३५ ओटा फस्र्यौट भई ३ ओटा बाँकी, पुनरावेदन २ सय ५६ ओटा परेकोमा १ सय ८५ ओटा फस्यौट भई ७१ ओटा बाँकी रहेको जनाइएको छ । यसरी हेर्दा रिट र पुनरावेदन गरी जम्मा ७४ मुद्दा फस्र्यौट हुन बाँकी रहेको देखिन्छ । त्यसैगरी निवेदन, प्रतिवेदन र फुटकर निवेदन जम्मा ५६ ओटा परेकोमा ५६ ओटै फस्र्यौट भएको छ । मुद्दाको प्रकृतिका आधारमा लगत, फस्र्यौट र बाँकी भने अंश मुद्दा १५ ओटामा ११ ओटा फस्र्यौट, ४ ओटा बाँकी, बहुविवाह २० ओटामा १४ फस्र्यौट, ६ बाँकी, मानाचामल ५ मा ५ ओटै फस्र्यौट, जबरजस्ती करणी ३७ मा २७ फस्र्यौट, १० बाँकी, जबरजस्ती करणी उद्योग ११ मा ११ ओटै फस्र्यौट, डाका ७ मा १ फछ्र्यौट, ६ बाँकी, चोरी २० मा १० फछ्र्यौट, १० बाँकी, ज्यान मार्ने उद्योगमा ५६ मा ४८ फस्र्यौट, ८ बाँकी, लागूऔषध ५ ओटामा ४ फछ्र्यौट, १ बाँकी, विविधमा ७४ मा ४९ फस्र्यौट भई २५ ओटा बाँकी, रिट ३८ मा ३५ फस्र्यौट भई ३ ओटा बाँकी रहेको उल्लेख छ । मुद्दा, निवेदन–प्रतिवेदनसहितको आधारमा जम्मा लागत् ३ सय ५० मा फस्र्यौट २ सय ७६ भई ७४ मुद्दा फस्र्यौट हुन बाँकी रहेको उच्च अदालत धनकुटा इजालासका मुख्य न्यायाधीश विनोद शर्माले बताएका छन् । शर्माले ०७५ असार मसान्तसम्मका फस्र्यौट भएका मुद्दाको अवधिगत विवरण समेत प्रस्तुत् गरेका थिए । जसअन्तर्गत २ वर्ष नाघेको मुद्दा नभएको, १८ महिनादेखि २ वर्ष भित्रको एउटा, १ वर्ष देखि १८ महिनासम्मको ४ ओटा, ९ महिनादेखि १ वर्षभित्रको ३ ओटा र ९ महिनाभित्रको २ सय १२ ओटा रहेको बताएका छन् । फस्र्यौट हुन बाँकी ७४ ओटा मुद्दा भने ९ महिनाभित्रको रहेको बताइएको छ । फस्र्यौट हुन बाँकी रहेका मुद्दाहरूमा ०७४ फागुन महिनामा दर्ता भएको २ ओटा, ०७४ चैत्रमा दर्ता भएको ६ ओटा, ०७५ वैसाखमा दर्ता भएको ७ ओटा, जेठमा दर्ता भएका ३३ ओटा र असारमा दर्ता भएका २६ गरी जम्मा ७४ ओटा रहेको मुख्य न्यायाधीश शर्माले बताए । त्यसैगरी वैतनिक कानुन व्यवसायीको लिखित तयारी, टेम्ल्पेट, परामर्श सेवा, साक्षी परीक्षण, बहस, तारेखमा बसेको र कारागार भ्रमण गरी १ सय ६९ ओटा मुद्दामा सेवा दिएको उल्लेख छ । जसअन्तर्गत सेवा पाउने जम्मा व्यक्तिभने २ सय ३ जना रहेका छन् । त्यसैगरी अदालतको अति नगरी नहुने भौतिकपूर्वाधार अन्तर्गतका विविध कार्यहरू समेत सम्पन्न गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । न्यायाधीशहरूको आवासमा १२ हजार लिटर क्षमताको २ ओटा खानेपानीको ट्याङ्गकी निर्माण, आवासक्षेत्रको तारबार, आवास भवनसम्म जाने बाटो निर्माण, भवन रङ्गरोगन, अतिथि गृहको तला थप र ७० ओटा विभिन्न प्रजातिका बोटविरुवासमेत रोपिएको प्रतिवेदनमा उल्लेख छ । पत्रकार सम्मेलनमा न्यायाधीश श्रीमणकुमार गौतम, सुभाष पौडेल, निमित्त रजिस्टार लीला बरालको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको संचालन उच्च अदालत धनकुटा इजालासका शाखा अधिकृत शम्भु भुजेलले गरेका थिए ।