बिर्तामोड । कनकाई विकास बैङ्क दमकको १६ औं शाखा झापाको लक्ष्मीपुरमा स्थापना भएको छ । बैङ्कको यस अगाडि नै झापामा ७, इलाममा ४, मोरङमा ४ शाखा सञ्चालनमा छन् । झापा, मोरङ र इलाम जिल्लालाई कार्य क्षेत्र बनाएर कार्य सञ्चालन गर्दै आएको बैङ्कले अर्जुनधारा नगरपालिका–५ र कनकाई नगरपालिका–८ को सिमाना लक्ष्मीपुरमा शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कले लक्ष्मीपुरमा बिहीबार १६ औं शाखाको उद्घाटन गर्दै लक्ष्मीपुर शाखामा रेखा कार्कीलाई शाखा प्रमुखको जिम्मेवारी दिएको जनाएको छ ।

बैङ्कका पूर्व अध्यक्ष माधव पराजुलीले शाखाको उद्घाटन गरेका थिए । हाल ३५ हजार भन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले आर्थिक वर्ष ०७४÷०७५ मा करीब एक अर्ब ८८ करोड निक्षेप सङ्कलन र एक अर्ब ६७ करोड कर्जा प्रवाह गरी ७ करोड सञ्चालन मुनाफा हासिल गरेका बैङ्कका अध्यक्ष सेवक दाहालले जानकारी दिए । उनले बैङ्कको चुक्तापुँजी ५० करोड भएको बताउँदै निकट भविष्यमा थप २ ओटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै लाने बताए ।