रङ्गेली/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार गठन भएको ६ महिना नबित्दै सरकारका विरुद्ध सदन अवरोध तथा सडक सङ्घर्षमा नेपाली काङ्ग्रेस गलत समयमा उत्रेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्रपार्टी एक नम्बर प्रदेश कार्यालयको बिहीबार विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष थापाले सरकार गठन भएको ६ महिनामात्र भएकाले सरकारलाई एक वर्षसम्म परीक्षणका रूपमा काम गर्न दिनु पर्ने बताए । उनले कम्युनिस्टको एजेण्डा बोकेर उनैलाई पछार्न खोज्नु काङ्ग्रेसको मूर्खता भएको जिकिर गरे । उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिस्टको एजेण्डा भएकाले त्यसैलाई बोकेर काङ्ग्रेस अगाडि बढेको आरोप लगाए । ‘अहिले देशको समस्याको मूल जरो पहिल्याएर त्यसमा विचारले प्रहार गर्नु पर्ने बेला हो ।’ अध्यक्ष थापाले भने, ‘नेकपाको स्थानमा अहिले काङ्ग्रेस रहेको भए पनि देशको अवस्था यस्तै रहने थियो ।’ नेपाली काङ्ग्रेसको आन्दोलन समस्याको समाधान नभएको पनि थापाले बताए । एक वर्षभित्र पनि सरकारले जन अपेक्षाअनुसार काम गर्न नसके सरकार विरुद्ध सङ्र्घषमा उत्रने उनले बताए । वर्तमान सिट भएपनि काम गर्न नसकेको आरोप लगाए । नेपाली जनताको विश्वासअनुसार सरकारले जनताको मन जित्न नसकेको उनले बताए । सरकारले जनभावनाको कदर नगरे पनि सरकारको विरुद्ध उत्रने पक्षमा आफनो पार्टी नभएको बताए । पार्टी वैचारिक शक्तिको रूपमा जनताको विश्वास जित्न सफल भए पनि कमजोर सङ्गठनका कारण गत निर्वाचनमा राप्रपाले पराजय भोग्नुपरेको उनको ठम्याइ थियो ।