उदयपुर । उदयपुरमा एक परिवारले माटोको सामग्री उत्पादन गरी घरखर्च चलाउँदै आएको छ । परापूर्वकालदेखि नै मानिसले विभिन्न रूपमा माटोका सामान प्रयोग गर्दै आए पनि पछिल्लो नवपुस्ताहरु आधुनिक समयअनुसार परिवर्तन भएकोले मौलिक सामग्रीहरु ओझेलमा पर्दै गएका छन् । दैनिक प्रयोग हुने अतिआवश्यक सामग्री र विभिन्न आकृति घैँटा, खुत्रुके, तमाखु जस्ता भाँडावर्तन र देवीदेवताको मूर्ति आदि माटोबाटै बन्दछ । माटोका सामान बनाउन झन्झटिलो भए पनि पुख्र्यौली पेशा भएकोले काम गर्दै आएको दुर्गा पण्डितले बताइन् ।
हटियामा माटोको सामान व्यापार गर्दै आएकी पण्डित आफैले माटोको विभिन्न सामान बनाई बजार ल्याई बेच्ने गरेको बताउँछिन् । मागअनुसार मूर्ति बनाउने गरेको र ग्राहकहरु घरमै खरिद गर्न आउने उनले बताए । उनका श्रीमान्ले देवीदेवताको मूर्ति बनाउने गर्दछन् । माटोको सामान र मूर्तिबाट आएको रकमले जेनतेन घरपरिवार चलाइरहेको पण्डितले बताइन् ।