तेह्रथुम । खडेरीका कारण प्रमुख खाद्यबाली मकैको बीउ नै मासिएको भन्दै म्याङलुङ नगरपालिका तम्फुलाका किसानले सरकारसँग उचित राहतको माग गरेका छन् । मकैको बोट सुकेर बीउ नै मासिन लागेको भन्दै किसानले कृषि कार्यालय र नगरपालिकासँग राहतको माग गरेको कृषक नारायण गुरागाईंले बताए । किसानहरूले खडेरीको प्रभाव अनुगमन गरी सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा अनुदानको कार्यक्रम ल्याउनसमेत माग गरे । खडेरीका कारण तमोर खोलाको किनारसँग जोडिएको तम्फुला, केउरानी, साब्ला, थलाडाँडामा मकै सुकेर मरेपछि गाउँमा अनिकाल सुरु भएको कृषकहरूले बताएका छन् । मकैको सुत्ला लाग्ने बेलामा खडेरी लागेकाले बोटै सुकेर मकैबाली सखाप भएको म्याङलुङ १० तम्फुलाका हरी लिम्बूले बताए । लिम्बूका अनुसार खडेरीले मकैबाली डढेर सखाप भएका छन् । प्रमुख खाद्यबाली मकै उत्पादन नहुँदा गाउँभरि भोकमरी फैलन सक्ने कृषकहरू बताउँछन् । खडेरीले गर्दा किसानहरूको मकैबाली सुकेकाले राहतका कार्यक्रम ल्याउन पहल गरिने वडाअध्यक्ष होम खापुङ्गले बताए । यसैगरी खडेरीका कारण प्रमुख खाद्यबाली मकैको बीउ नै मासिएको भन्दै छथर गाउँपालिका फाक्चामाराका किसानले पनि उचित राहतको माग गरेका छन् । किसानहरूले फाक्चामारालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा अनुदानको कार्यक्रम दिन माग गरेका छन् । खडेरीका कारण तमोर खोलाको किनारसँग जोडिएको फाक्चामाराको साविक वडा नम्वर १, २, ३, ४ र ५ मा मकै सुकेर मरेपछि गाउँमा अनिकाल लागेको स्थानीय दिपा नेपालीले बताइन् । फाक्चामारा १ का सिद्धिमान लिम्बूले मकै सखाप भएको भन्दै दुखेसो गरे । खडेरीले छिमेकी पञ्चकन्या र ओख्रेको पुछारमा पनि मकैबाली डढेर सखाप भएको उनले बताए । पञ्चकन्याको साविक वडा नम्वर १,२,३ र ४ तथा ओख्रेको वडा नम्वर ३, ४ र ५ मा मकैका बोट मरेको लिम्बूको भनाइ छ । यस वर्ष मकैले सुत्ला लगाउने बेलामा लामो खडेरी लागेकाले तमोर किनारसँग जोडिएका करिब एक दर्जन बडामा मकै उत्पादनमा भारि गिरावट आउने भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले अहिलेको अवस्थामा कृषि कार्यालयले केही गर्न नसक्ने बताउँदै सम्बन्धित स्थानीय तहले यस बारेमा चासो दिनुपर्ने बताए ।