तेह्रथुम । खानेपानी समस्या झेल्दै आएका म्याङलुङ–१ थलाडाँडा र तम्फुलाका स्थानीयले पानी जोगाउने जुक्ति निकालेका छन् । पानी चोरी हुनबाट जोगाउन घर र विद्यालयका ट्याङ्कीमा उनीहरूले तालाचाबी लगाएर राख्न थालेका छन् । खानेपानीको समस्या भएको कारण घर धनीले पानी चोरी हुनबाट बचाउनका लागि तालाचाबी लगाउनु परेको हो । ‘धारामा पानी आउँदैन, यसरी ताला नलगाउने हो भने राति नै पानी चोरी हुन्छ ।’ ६४ वर्षीय पूण्यमाया भण्डारीले बताइन् । थलाडाँडामा पिउने पानी अभावमा गाउँ नै प्रभावित छ । टाढादेखि ल्याएको पानी नियमित नआउँदा स्थानीयले पिउने पानीको समस्या झेल्दै आएका छन् । तम्फुला खानेपानी आयोजनाको पाइपबाट त्यस ठाउँसम्म ल्याइएको पानी मुहानक्षेत्र र गाउँमा अवरुद्ध हुँदा दुईतीन दिनमा एक पटकमात्र पानी आउने गर्दछ ।
सीमित समय आएको पानीले घरमा रहेको रिजर्भ ट्याङ्की भर्न नपाउँदा स्थानीयलाई पिउनका लागि वर्षभरी नै पानीको समस्या हुने गरेको वडा नम्बर १ का अध्यक्ष ईन्द्र तुम्बाहाम्फेले बताए । चाबी लगाएको पानीले पुग्दैन थोरै समय आएको पानी ५ सय लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर विद्यालय भवनभित्र सानो कोठामा चाबी लगाएर राखिएको छ ।
५ सय लिटर क्षमताको उक्त हिलट्याङक अहिले सम्म भरिन पाएको छैन । बिहान जम्मा भएको १ सय ५० लिटर जति पानीले आधा विद्यार्थीलाई पनि पुग्दैन । साना विद्यार्थीलाई पालोमा राखेर पानी पिउन दिँदा दिँदै सकिने गरेको र ठूला विद्यार्थीलाई कहिले पनि पानी नपुग्ने गरेको शिक्षक प्रभुराम सुवेदीले बताए । चाबी लगाएर राखेको पानीले नपुगेपछि ठूला विद्यार्थी जति नजिकको गाउँतर्फ लाग्छन् ।
गाउँमा पनि पर्याप्त पानी नभएकाले कहिलेकहीँ आधा घण्टा टाढासम्म पिउने पानी दिने घर खोज्दै पुग्नु पर्ने छात्रा दिपा गुरागाईंले बताइन् । गाउँमा गएर पानी पिएर आउँदा पढाइ शुरु भएर धेरै पटक घण्टी नै छुटेको उनले दुखेसो पोखिन् । बिहान सिमित समय आउने पानीलाई अरूले चोरेर लाने डरले ट्याङ्कीमा जम्मा गरेर कोठामा चाबी लगाएर थुनेर राख्ने गरिएको विद्यालय प्रशासनले जनाएको छ । ‘पानी चोरी भए विद्यार्थीलाई खुवाउन सकिँदैन’ प्रअ नवीन गुरागाईंले भने ‘जति पानी आउँछ त्यसलाई जोगाएर राख्ने हो ।’