पानवारी । धरान उपमहानगरपालिका ७ नं. वडा कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार वडा कार्यालयमा कार्यक्रम गर्दै वडा कार्यालयले आ.व. २०७४÷०७५ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ भने आगामी वर्षको कार्ययोजनासमेत सार्वजनिक गरेको छ । ७ नं. वडा कार्यालयको प्रगति विवरण सार्वजनिक गर्दै कार्यवाहक वडाध्यक्ष जीवनराज सुवेदीले वडालाई उज्यालो वडा, सुरक्षित वडा तथा सुन्दर नमुना वडा बनाउन लागिपरेको बताए । उनले जनप्रतिनिधि आएपछि जनताले समृद्धिको आशा गरेको भन्दै आफूले सोही अनुसार काम गर्ने बताए । वडा कार्यालयले गत आर्थिक वर्षमा ६६ लाख ५६ हजारको बजेट विकास निर्माणमा खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । ७ नं. वडा कार्यालयले सञ्चालन गरेको निःशुल्क ड्राइभिङ तालिम कक्षा र लीला श्रेष्ठ सुब्बा सुरक्षित मातृत्व कार्यक्रम लोकप्रिय भएको थियो भने चालु आ.व.मा समेत सो कार्यक्रमलाई निरन्तरता दिइएको छ । वडाले मृत्यु दर्ता र छोरीको जन्मदर्ता ६ महिनाभित्र गरे निःशुल्क दर्ता गरिदिने र पानवारी बस स्टेण्डमा निःशुल्क वाईफाई जडान गरेको छ । दुवै कार्यक्रमको लागि जनप्रतिनिधिले रकम भुक्तानी गर्ने कार्यवाहक वडाध्यक्ष जीवनराज सुवेदीले बताए । वडाले चालु आ.व.मा ६९ लाख २८ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेटसमेत प्रस्तुत गरेको थियो ।