बेलबारी । १ नम्बर प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो(मौसम)ले प्रदेशको नामाकरण ऐतिहासिकता र मानव पहिचानको आधारमा हुने बताएका छन् । शनिबवार मोरङको बेलबारीमा २४ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री आङ्वोले सो बताएका हुन् । १ नम्बर प्रदेशका आदिवासी जनजातिलगायत यहाँका बासिन्दाहरुका भावनालाई समेट्न प्रदेशको नाम किरात हुनसक्ने मन्त्रीले बताएका छन् । किरातले भूगोल, सभ्यता र समुदायको पहिचान सबै समेट्ने हुँदा किरात प्रदेशमा सबैको सहमति हुनसक्ने मन्त्री आङ्वोले बताएका छन् । त्यसैगरी आदिवासीको अधिकारको सवालमा बोल्दै अहिले आदिवासी जनजातिहरुलाई पहिचान, राजनैतिक अधिकार र समृद्धिको माध्यमबाट राज्यको मूल प्रवाहमा ल्याउनु सरकारको पहिलो दायित्व रहेको बताएका छन् । जनयुद्ध जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन विभिन्न जालझेल भइरहेकोले अहिलेको उपलब्धिको रक्षा गर्र्दै आदिवासी जनजातिहरु अगाडि बढ्नु पर्ने बताएका छन् । त्यसैगरी युवाहरुको समस्याको बारेमा बोल्दै मन्त्री आङ्वोले अबको पाँच वर्षभित्रमा नेपालमा बेरोजगारीको अन्त्य गर्ने र विदेश जाने परम्पराको अन्त्य गर्ने बताएका छन् । त्यसको लागि हामीले लोकप्रिय कार्यक्रम घोषणा गर्नुभन्दा विशेष योजना बनाएर रोजगारको सिर्जना गर्ने मन्त्री आङ्वोले बताएका छन् । त्यसैगरी कार्यक्रममा आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष किरण सुनुवारले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न अर्को सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार भवानी बरालले नेपालको समृद्धिको लागि आदिवासी जनजाति, खसआर्य र मधेशीको राष्ट्रिय एकताले मात्र सम्भव हुने बताएका छन् । त्यसैगरी कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासङ्घ प्रदेश अध्यक्ष ध्रुव सुब्बाले किरात(राई) र लिम्बू समुदायको एकताले मात्र पहिचानको नाम लेखिने बताएका छन् । धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालले आदिवासी जनजातिको अधिकार र पहिचानको लागि सशक्त सङ्घर्ष गर्नु जरुरी रहेको बताएका छन् । कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुलीले पनि आदिवासी जनजातिहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदीले लोकतन्त्रमा सबै जातिहरुले आफ्नो धर्म, सँस्कृति र परम्परा मान्न पाउने अधिकार रहेकोले यसमा राज्यले अधिकार समेत दिलाएको बताएका छन् । कार्यक्रममा बेलबारीमा रहेका आदिवासीहरुले साँस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा पार्वती राई, सरला राई, निकेश राई, सञ्जीव धिमालले लोक तथा आदिवासी गीत प्रस्तुत गरेका थिए । कार्यक्रम महासङ्घका अध्यक्ष तिलकप्रसाद राईको सभापतित्वमा सम्पन्न भएको थियो ।