विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालयपरिसरभित्र दिउँसै बम विष्फोट भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष रहेको पहिलो तलाको बीच प्यासेजमा आइतबार दिउँसो २ बजे बम विष्फोट भएको हो । बम विष्फोट हुँदा कार्यालय प्रमुख चढ्ने सवारी र कार्यालयका सिसा तथा फर्निचरमा क्षति पुगेको छ भने मानवीय क्षति नभएको मोरङ प्रहरीका प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रेसर कुकर बम भएको हुनसक्ने आशङ्का गरिएको छ । विष्फोटबाट नगरपालिकाको झ्यालको सिसा फुटेको छ भने प्यासेजमा रहेका सोफा र दराज टुक्रा–टुक्रा भएको महानगरपालिकाका प्रमुख पराजुलीले जानकारी दिए । विष्फोटले प्रमुख पराजुलीले चढ्दै आएको को. १ झ ४९४ नम्बरको गाडीको पछाडिपट्टिको सिसा फुटेको छ । विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो । विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रमुख  पराजुलीले जानकारी दिए । मुटुरोगी रहेका उनको उपचार विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भइरहेको छ । महानगरपालिकाका प्रमुख पराजुलीले जनताको कार्यालयमा यसरी एक्कासि विष्फोटको आवाज आएको बताए । ‘जनताको सेवा गर्ने कार्यालयमा बम विष्फोट हुन्छ भन्ने कल्पनासम्म गरेको थिइनँ’ महानगरपालिकाका प्रमुख पराजुलीले भने, ‘जसले घटना घटाए पनि यो निन्दनीय र खेदजनक छ ।’ उनले कुनै आन्दोलनका नाममा यस्तो घटना भएको भए पनि त्यो गलत भएको बताए । ठूलो संख्यामा सेवाग्राहीको चाप हुने महानगरपालिकामा बम विष्फोट गराउने काम निन्दनीय भएकाले यसले कसैलाई पनि फाइदा नपुग्ने बताए । प्रहरीले महानगरपालिका कार्यालयमा सिल गरेर घटनाको अनुसन्धान शुरु गरेको छ । घटनास्थलमा प्रहरीका तालिमप्राप्त कुकुरसहितको अपराध अनुसन्धानमा विशेष दख्खल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान शुरु गरेको बताइएको छ । सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित छ । एसपी केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र गहन रूपमा घटनाको अनुसन्धान शुरु गरिएको बताए । केसीले महानगरपालिकामा सीसी टिभी जडान गरिएका कारण घटनाका बारेमा चाँडै पत्ता लाग्ने बताए । उनका अनुसार सीसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए । घटनास्थलमा टिनका टुक्राहरु पनि फेला परेको उनले बताए । विष्फोटबाट फुटेका सिसाका टुक्रा महानगरपालिका कार्यालयपरिसरमा यत्रतत्र छरिएका छन् । एसपी केसीले कसले र के उद्देश्य राखेर विष्फोट गराएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताए । विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय पनि गरेको छ । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै विराटनगर महानगरपालिकामा चन्दा माग गरेको महानगरका एक कर्मचारीले बताए । चन्दा नदिएको कारणले बम विष्फोट गराएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले पनि नेकपा विप्लवले विष्फोट गराएको हुनसक्ने जनाएको छ ।

९ जना प्रहरी नियन्त्रणमा प्रहरीले महानगरपालिकामा बम विष्फोट गराएको आशङ्का गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ९ जना कार्यकर्तालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बम विष्फोट भएको एक घण्टापछि विभिन्न स्थानबाट पक्राउ गरी उनीहरुलाई मोरङ प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेका कारण उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको एसपी केसीले जानकारी दिए । पक्राउ परेकाहरुको राजनैतिक आबद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।