विर्तामोड । अर्जुनधारा नगरक्षेत्रमा यौनजन्य हिंसा बढेको भन्दै विभिन्न सामाजिक सङ्घ–संस्थाहरुले कारबाहीको माग गरेका छन् । समाजमा विकृति र विसङ्गति फैलाउने प्रयास भइरहेको भन्दै अर्जुनधारा–११ का संस्थाहरुले संयुक्तरूपमा कार्यक्रम गरी विरोधसमेत जनाएका छन् । उक्त वडामा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, तरुण दल, युवा सङ्घ नेपाल, अनेमसङ्घ, जुनकिरी प्रावि, एभर ग्रिन इङ्लिस बोर्डिङ स्कुल, गौरी शङ्कर शिवालय मन्दिर परिवार, प्रगति सामुदायिक वन उपभोक्ता समूह, पारिजात महिला फुटबल क्लब, सालबारी सितोरिया कराँते डोजो, नयाँ बिहानी युवा फाउण्डेशन, बसपार्क गाइज युवा परिवारसहितका सामाजिक सङ्घ– संस्थाहरुले आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन स्थानीय सरकार, प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । पारिजात महिला फुटबल सङ्घका अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नगरअध्यक्ष प्रेमसागर सापकोटा, युवासङ्घका नेता लवकुश गौतम, नेपाली काङ्ग्रेसका प्रतिनिधि गङ्गाप्रसाद मैनाली, महारानीगञ्ज माविका व्यवस्थापन समिति अध्यक्ष रोहितमान ढकाल, अनेमसङ्घकी महिला नेतृ माया बाघदास, तरुण दलका प्रतिनिधि डम्बर चौधरीलगायतले आपराधिक मनोवृत्ति बढ्दै गएकाले अपराधीको पक्षमा लागेर जोगाउनेलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला तथा बालिकामाथिको शारीरिक दुव्र्यवहार तथा ज्यादतीविरुद्ध नगरक्षेत्रमा शान्ति कायम राख्दै सम्भावित घटनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा समेत जोड दिए । ती सङ्घ–संस्थाहरुले जिल्ला प्रशासनमा पुगी ज्ञापन–पत्रसमेत बुझाएको युवासङ्घका केन्द्रीय सदस्य पत्तुस आजाद रानाले बताए ।