इटहरी ।  इटहरी–६ का व्यापारी मुकेश अग्रवालले सार्वजनिक बाटोलाई आफ्नो भनेपछि विवाद उत्पन्न भएको छ । अग्रवालले घरअघिल्तिरको सार्वजनिक बाटो आफ्नो बताएपछि उत्पन्न विवाद अन्तत प्रहरी कार्यालयमा पुगेको छ । उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा स्थानीय सुनिल अधिकारीले उजुरी दिएका हुन् । अधिकारीले अग्रवालविरुद्ध गाली बेइज्जतिमा निवेदन दिएका हुन् । सडक ढाक्ने गरी पार्किङ गरेर राखेको सवारी हटाउनका लागि अग्रवालालाई आग्रह गर्दा उल्टै दुव्र्यवहार गरेको अधिकारी बताउँछन् । अधिकारीका अनुसार अग्रवालले यसअघि पनि बारम्बार यस्तै खाल्को व्यवहार गर्दै आएका थिए । ‘आज भने अतिचार गरेपछि प्रहरीमा उजुरी दिएको हुँ ।’ उनले फोनसम्पर्कमा भने । अग्रवालले आफू तनावमा भएकाले मुखबाट अचानक ‘मेरो बाटो हो’ भन्ने शब्द फुत्किएको भन्दै माफी मागे । आफूले गलत नियतले त्यस्तो भन्न नखोजेको बताउँदै केही समय पर्खिनका लागि भन्दा उहाँ पनि आक्रोसमा आएपछि मेरो बाटो भनिदिएको बताए । ‘बाटो सानो थियो आफू तनाबमा भएका बेला मैले बाटो मेरै हो भनेको हुँ ।’ उनले स्वीकार्य शैलीमा भने । उनले आफ्नो गल्ती स्वीकार्दै माफीसमेत मागेका छन् । अग्रवालको व्यवहारले अधिकांस टोलबासी  रुष्ट छन् । नेपाली सेनाको पूर्वी पृतना हेटक्वाटरमा रासन र क्याप टोपीको ठेक्का गर्दै आएका उनलाई रासन अनियमितताको आरोपसमेत लागेको थियो ।