[caption id="attachment_90616" align="alignnone" width="1000"] फायलफाेटाे[/caption]

वराहक्षेत्र/पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय नगरी वराहक्षेत्रमा भित्रिने पर्यटकहरुको लागि मनोरञ्जनात्मक विश्रामस्थलको बनाइनुपर्ने चर्चा भइरहुँदा चतरास्थित किरात राई यायोक्खाले साकेला पार्कको गुरुयोजना बनाई वृहत निर्माण थालेको छ । वराहक्षेत्र–१ चतराको गौरीपूल नजिक रहेको किरात राई यायोक्खा प्रारम्भिक कार्य समितिले संरक्षण गरिरहेको धार्मिकस्थललाई साकेला साकेन्वा शिली पार्र्क बनाउन योजना अघि सारिएको हो । १ विघा १२ कट्ठा जग्गामा बन्न लागेको पार्कमा २ लाख ५० हजार रुपैयाँको लगानीमा किरात राईहरुको विभिन्न सांस्कृतिक, धार्मिक र भाषिक पहिचान झल्कने किरात राई संग्रहालय बनाइएको छ । जसमा राईहरुको ३ ओटा ढुङ्गाको चुलो, चिन्डो, पारम्परिक धनु काँड, ढोल झ्याम्टाजस्ता सामग्री सङ्ग्रहित छन् । ८ लाख रुपैयाँमा किरातेश्वर मन्दिर निर्माण भइरहेको छ । पार्कमा घुम्न र वनभोज खान आउने घरेलु तथा बाह्य पर्यटकहरूको लागि सुविधा सम्पन्न पिकनिक स्पट, केटाकेटीहरूको लागि चिल्डूेन पार्क, यसैगरी कार्यक्रमहरुको लागि सभाहल र रिङ्ग रोड निर्माण गरिने किराया प्रारम्भिक कार्यसमितिका संस्थापक अध्यक्ष मनजित राईले बताए । पार्क निर्माणको लागि नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दुई पटक दिएको ५ र ७ लाख रकमबाट पार्कको वरिपरी ५ सय मिटरमा तारजाली भएको पक्की पर्खाल समेत बनाइएको थियो ।

पहिला चौर रहेको उक्त जग्गामा किरात राईले उभौली, उँधौली पर्वमा शिली नाच्न प्रयोग गर्दथे । पछि, बिस्तारै पर्यटहरूको लागि गतिलो विश्राम स्थलको खाँचो भएपछि २०५८ सालमा धार्मिक स्थललाई पार्क बनाउने निधो भएको थियो । स्थानीय राईहरूबाट केही रकम सहयोग लिई निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । ‘मैले पनि पार्कको लागि बुबा रहनलाल राई र आमा जहनमाया राईको नाममा ३ लाख ५० हजारको लगानीमा कार्यक्रम हल बनाएर प्रा.का.स. लाई हस्तान्तरण गरेको थिएँ ।’ मनजित राईले भने ।  १० वर्षमा सम्पन्न गरिसक्ने गरी निर्माण गरिएको साकेला पार्कको गुरुयोजना भए पनि रकम नहुूदा पार्क निर्माणको काम अघि बढ्न सकेको छैन । नेपाल सरकारले आर्थिक वर्ष ०७४÷७५ मा पार्कको लागि १० लाख छुट्याएको थियोे तर स्थानीय सरकार आएपछि वराहक्षेत्र नगरपालिकालाई विनियोजित रकमको कागज देखाउूदा रकम नदिएको अध्यक्ष राईले गुनासो गरे  । यता नगरपालिकाले भने जातीय संस्था भनेर उपेक्षा गरेको बताए ।  नेपाली काङ्गे्रसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले ३ लाख रुपैयाँ सहयोग गरेको भन्दै संस्थापक राईले एक्लो प्रयासले मात्र सम्भव नहुने बताए । उनले सम्पूर्ण वराहक्षेत्रवासीको साझा तथा गौरवको साकेला पार्कको लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।