विराटनगर /नक्कली औषधि बिक्रीवितरण गरेको आरोपमा पक्राउ परेका थप दुई फार्मेसी सञ्चालकलाई दश दिनको म्याद थप गरिएको छ । पक्राउ परेका पाण्डव राजवंशी र नौसाद अन्सारीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले आइतबार जिल्ला अदालत मोरङमा दश दिनको म्याद थप गरेको हो । राजवंशी विराटनगरको हस्पिटल चौकमा सञ्चालित गोल्डेन फार्मेसीका सञ्चालक हुन् भने अन्सारी जिग्री फार्मेसीका सञ्चालक हुन् । औषधि व्यवस्थाप विभागले शुक्रबार उनीहरुलाई नक्कली औषधि बिक्रीवितरण गरेको आरोपमा पक्राउ गरेको थियो । भारतबाट अवैध रूपमा नेपालमा त्यस्ता औषधि ल्याएर बिक्रीवितरण गर्ने गिरोह धरान–४ का ३२ वर्षीय जीवन अग्रवाल यसअघि नै पक्राउ परेका छन् । उनी पक्राउ परेपछि थप रहस्य खुलेकोले फार्मेसीका सञ्चालक अन्सारी र राजवंशीलाई पक्राउ गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।
औषधि व्यवस्था विभागले जिग्री फामेर्सी र गोल्डेन फार्मेसीबाट विभिन्न कम्पनीका नक्कली औषधि बरामद गरेको बताइएको छ । उक्त फार्मेसीमा नक्कली औषधि अग्रवालले दिने गरेको अनुसन्धानबाट खुलेको एकजना अनुसन्धान अधिकृतले जानकारी दिए । प्रहरीले विराटनगरको पाँच वटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको नक्कली औषधिसहित दुईवटा फार्मेसीका सञ्चालक पक्राउ परेका थिए । यसअघि प्रहरीले विराटनगरको महेन्द्रचौकस्थित म्याक्स हस्पिटलभित्र रहेको लङ लाइफ फार्मेसीका सञ्चालक विराटनगर–१० का ३३ वर्षीय दीपककुमार राय र विराट अस्पतालभित्र रहेको मेड प्लस फार्मेसीका सञ्चालक सप्तरी महुली–५ का ३० वर्षीय प्रशान्तकुमार चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई औषधि ऐन २०३५ अन्तर्गत मुद्दा चलाउने औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरकी निमित्त प्रमुख आशा थापाले जानकारी दिइन् । विभागका अनुसार चाँडै अनुसन्धान पूरा गरी मुद्दा तयार गरिने बताइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ । दुःख दिने काम गरे : औषधि व्यवसायी नेपाल औषधि व्यवसायी सङ्घ कोशी विराटनगरले बिना कारण औषधि व्यवसायीहरुलाई पक्राउ गरेको भन्दै आइतबार ज्ञापन–पत्र बुझाएका छन् । उनीहरुले विराटनगरस्थित औषधि व्यवस्थापन विभाग क्षेत्रीय कार्यालयमा पुगेका ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्र बुझाएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कुमार खतिवडाले पछिल्लो समय पक्राउ परेकाका व्यवसायीहरुलाई पक्राउ गरेर दुःख दिने काम गरेको बताए । ‘पहिले अनुसन्धान गर्दा केही छैन भन्दै छोडेका थिए’ अध्यक्ष खतिवडाले भने, ‘फेरि पाण्डव राजवंशी र नौसाद अन्सारीलाई पक्राउ गरेर हिरासतमा राखे ।’