बेलबारी । मोरङको सुन्दरहरैंचास्थित श्री कृष्ण प्रणामी संरक्षण सेवा समितिले कृष्ण जन्म अष्टमीको दिन रथ यात्रा कार्यक्रम गर्ने भएको छ । समितिद्वारा आयोजित एक महिनासम्म श्रीमद्भागवत् कथा वाचन समापन भएको भोलिपल्ट सुन्दरहरैंचामा रथयात्रा हुने प्रचार–प्रसार संयोजक शरण भट्टराईले बताए । कार्यक्रमका लागि १५ लाख बराबरको काठको ठूलो रथ निर्माण भइरहेको छ । रथ निर्माणका लागि सुन्दरहरैंचाले १० लाख रुपैयाँ दिने निर्णय गरेको आयोजक समितिका सदस्य श्याम आचार्यले बताए । मन्दिरमा अहिले नेपालकै प्रथम भागवत् वाचिका तारा घिमिरेले दैनिक कथा वाचन गरिरहेको समितिले जनाएको छ । साउन १८ गतेदेखि शुरु भएको श्रीमद्भागवत् कथा वाचन कार्यक्रम एक महिनासम्म चल्ने छ । मन्दिर संरक्षण सेवा समितिको मातहतमा रहेको कृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम सलकपुरले १२ जना बालकहरूलाई शिक्षा दिक्षासहित आश्रममा राखेको छ । अध्यात्म ज्ञानले मानिसलाई लगनशील बनाउन र सबै जाति धर्म सम्प्रदायमा सद्भाव छर्न कार्यक्रमको आयोजना गरिएको प्रचार संयोजक भट्टराईले बताए । समितिले यस प्रकारको कार्यक्रम ४७ औं पटक गरिसकेको छ ।