धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले १९ औं स्थापना दिवशको अवसर पारेर २०७४ को एसइइ परिक्षामा जिल्ला प्रथम हुन सफल एक छात्रलाई आईतबार सम्मान एवं पुरस्कृत गरेको छ । फोनिज धनकुटा शाखाले १९ औं स्थापना दिवशको अवसर पारेर धनकुटा नगरपालिका वडा नं.७ त्रिवेणी मा.वि. बाट २०७४ को एसइइको परिक्षा दिएर ३.८७ जिपिए ल्याएर जिल्ला प्रथम भएका हेन्साङ्ग दोर्जे लामालाई पुरस्कृत एवं सम्मानपत्र प्रदान गरेर सम्मान गरेको हो । पुरस्कृत एवं सम्मानित हुने लामालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय सल्लाहकार संजय सन्तोषी राईले सम्मान–पत्र र नगद २ हजार ५ सयले पुरस्कृत गरेका हुन । सो अवसरमा आयोजना गरिएको शुभकामना आदन–प्रदान कार्यक्रमका प्रमुख अतिथि संजय सन्तोषी राईले आदिवासी जनजातिहरुको साझा सवाल र मुद्धाहरुलाई नयाँ संविधानले सम्वोधन गर्न नसकेकाले मुलुकको वर्तमान राज्यसत्तासंग लड्नु परेको बताएका छन् । उनले बिना अधिकारको समावेशीको नाराले मात्र आदिवासी जनजातिहरुको माग र मुद्धा सम्वोधन नहुने पनि दावी गरेका थिए । आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतमा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाकाअध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष नगेन्द्र राई, सल्लाहकार विजय सन्तोषी राई, मोहन बान्तावा, प्रेश युनियनका अध्यक्ष यानिन्द्र तिगेला, साहित्यकारद्धय केजी सुब्बा, मुकुन्द प्रयास, रमेशचन्द्र अधिकार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
कार्यक्रमको संचालन फोनिज धनकुटा शाखाका सचिव नगेन्द्र राईले गरेका थिए भने स्वागत मन्तव्य शाखा कोषाध्यक्ष मानबी मोक्तानले राखेकी थिईन । यसै क्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले पनि २४ औं विश्व आदिवासी दिवशको अवसरमा दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गरेर एसइइ जिल्ला टपर हेन्साङ्ग दोर्जे लामालाई सम्मान गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नं.१ का सांसद निरन राईले सम्मानपत्र, लिला सुब्बाले दोसल्ला, खदा र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले फेटा गुथाएर लामालाई सम्मान गरेका थिए । सोही अवसरमा साविकको लेगुवा गाविस वडा नं.७ हाल महालक्ष्मी नगरपालिका वडा नं.५ बाट माझी समुदायबाट पहिलो पटक ०७४ को स्थानिय निर्वाचनमा जनप्रतिनिधिको रुपमा वडा सदस्य दिमा पहिलो पटक निर्वाचित अक्कलबहादुर माझीलाई पनि दोसल्ला, खदा, सम्मानपत्र र फेटा गुथाएर सम्मान गरिएको थियो ।