बेलबारी । विपन्न परिवारका बालबालिका पढ्ने मोरङको बेलबारी–१ स्थित शहीद स्मृति आधारभूत विद्यालयलाई सहयोग आउने क्रम जारी रहेको छ । सोमबार पनि विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा विपन्न परिवार तथा मजदुरका नानीहरू पढ्छन् ।

क्विक भोलियन्टरले एक कार्यक्रमको आयोजना गरी विद्यालयका ५४ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री कापीकलम वितरण गरिएको हो । उर्लाबारी निवासी मित्रबहादुर बास्तोला र उनकी श्रीमती सरिता बास्तोलाले ५४ थान पोशाक प्रदान गरेका थिए । त्यसैगरी ईश्वरी गुरुङ, सुजता भण्डारी र सरिता तामाङले तीन सय ३४ थान कापी विद्यार्थीलाई प्रदान गरेका थिए । लालभित्ती युवा समुह दोहाकतारको सहयोगमा विद्यालयमा निर्मित खानेपानीको लागि ट्युबवेल पनि हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा विद्यालयको प्राङ्गणमा हेल्पिङ हेण्डस्का सदस्यले अशोकका विरुवा पनि रोपेका छन् । कार्यक्रममा बेलबारी–२ का वडाध्यक्ष घनश्याम गौतम प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । कार्यक्रममा क्विक भोलेन्टियर बेलबारीका अध्यक्ष सुनिता हुमागाईं तिवारी, सुन्दर हरैंचा सुदन भट्टराई, हेल्पिङ हेण्ड्सका मेघराज परियार, इटहरीका अरुण खड्का र लालभित्ती युवा समुह दोहाकतारका अध्यक्ष रमेश बस्नेतले नागरिकका अप्ठ्याराहरूमा आफ्नो सहयोग जारी रहने बताएका छन् । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष भक्तशेर लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।

विद्यालयलाई यस अघि पनि क्विक भोलेन्टिरकै संयोजनमा विद्यार्थीलाई जुत्ता तथा फर्निचर प्रदान गरिएको थियो । त्यसैगरी स्थानीय युवा समाजसेवी पेरिस सुवेदीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।