धरान । सुनसरीका पत्रकारहरुलाई विपद् जोखिम व्यवस्थापनसम्बन्धी सुनसरीका पत्रकारहरुलाई दुई दिने अभिमुखीकरण तालिम सोमबारबाट शुरु भएको छ ।
धनकुटाको भेडेटारमा शुरु भएको तालिममा सुनसरीका ४० भन्दा बढी पत्रकारहरु सहभागी छन् । सोमबारबाट शुरु भएको तालिममा विपत् जोखिमका बेला अपनाउनु पर्ने सावधानीसँगै नागरिकलाई दिनुपर्ने सचेतनाका विषयमा जानकारी गराइदै छ । तालिममा अग्रज पत्रकार यज्ञराज शर्मा, सिंहबहादुर खड्का र आयोजक संस्था युथ क्रिएसनका नवराज सुवेदीले सहजीकरण गरिरहेका छन् ।
खड्का लामो समयदेखि विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् । विपद्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा उनले जानकारी गराइरहेका छन् । समाचार संकलनका क्रममा अपनाउनु पर्ने सावधानीसँगै आचारसंहिताको विषयमा सहजकर्ता शर्माले जानकारी गराउँदै छन् ।
मंगलबार सम्पन्न हुने अभिमुखीकरण कार्यक्रमको आयोजना युथ क्रिएसन सुनसरीले गरेको हो । नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा भइरहेको तालिममा धरान, इटहरी, इनरुवा, वराहक्षेत्र, झुम्कालगायतका पत्रकार सहभागी छन् । उद्घाटन सत्रमा महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले विपद् व्यवस्थापनको तालिमले पत्रकारहरुलाई समाचार संकलनमा थप सहयोग पुग्ने बताए ।