राजविराज । लामो समयदेखि वर्षा नहुँदा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने माग उठिरहेका बेला शनिबार रातिदेखिको वर्षाले सदरमुकाम राजविराजका केही वडा जलमग्न भएका छन् ।

स्थानीय गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । आइतबार बिहानसम्म परेको अविरल वर्षाले राजविराज नगरपालिकाको वडा ४, ५, ७, ९, ११ र १६ डुबेको छ ।

वर्षाको पानीले निकास नपाउँदा औद्योगिक क्षेत्रमा पानी पसेर लाखौंको कच्चा पदार्थ र मेसिनमा क्षति भएको पीडितले बताएका छन् । औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यका अनुसार वर्षाको पानी पसेर औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको महालक्ष्मी र कोशी पोलिमर्स प्लाष्टिक उद्योगमा करिब १५ लाखको कच्चा पदार्थ नष्ट हुनुका साथै उपकरण र मेसिनमा क्षति पुगेको छ ।

यस्तै, कृष्णा खाद्य उद्योगको गोदाममा वर्षाको पानी पसेर २ लाखभन्दा बढीको चामल र उपकरण नष्ट भएको उद्योगका सञ्चालन जिवछ यादवले बताए । सोही क्षेत्रभित्र रहेको मिलन डेरी उद्योगमा पनि वर्षाको पानी पसेर १ लाख बराबरको कच्चा सामग्री नष्ट भएको र पानीको

तीव्र वेगका कारण गोदाम भवन नै ढल्ने अवस्थामा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । डुबानको खबर पाएपछि आइतबार बिहानै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी राजेन्द्र विष्टको नेतृत्वमा प्राविधिकसहितको टोली पुगेर औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा प्रजिअ पौडेलले वर्षाका कारण हुन सक्ने थप सम्भावित क्षति रोक्न तत्काल पहल गर्ने बताएका थिए ।

आइतबार दिउँसोदेखि वर्षा रोकिए पनि सम्भावित वर्षालाई ध्यानमा राखी तत्काल उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र विपद् व्यवस्थापन समिति उच्च सतर्क रहेको प्रजिअ पौडेले बताए ।