रङ्गेली । भारतीय बजार जोगवनीबाट सामान ल्याएर विराटनगरका बजारमा बेचेर जीवनयापन गर्दै आएका अपाङ्गहरुलाई सामान ल्याउन प्रशासनले रोक लागाएपछि सोमबार जोगवनी–विराटनगर सडक अवरोध गरेका छन् । उनीहरुले मुख्यमन्त्रीको कार्यालयअगाडि जोगवनी–विराटनगर सडकमा बसेर र सुतेर सडक अवरोध गरेका थिए । अपाङ्गहरुले जीवन यापनका लागि भारतीय बजार जोगवनीबाट सामान ल्याउन पाउनुपर्ने माग राखेर सडक अवरोध गरेका हुन् । अहिले भन्सार र प्रशासनले सामान ल्याउन रोक लगाएको उनीहरुले आरोप लगाएका छन् । विराटनगर र आसपास क्षेत्रका गरी ३० जनाभन्दा बढी अपाङ्गले जोगवनी बजारबाट ह्विलचेयरमा सामान ल्याउने गरेका छन् । उनीहरुले भन्सारबाट सामान ल्याउन पाउने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रदेश १ का सबै मन्त्रालय र जिल्ला प्रशासनमा ज्ञापन–पत्र तीन महिना अगाडि नै बुझाउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको आन्दोलनको नेतृत्व गरिरहेका सञ्जय थापामगरले बताए । उनीहरुले सङ्घर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । पहिला सामानको भन्सार कटाएर ल्याउन दिने गरेकोमा अहिले भन्सार काट्न बन्द गरेको थापामगरले बताए । जोगवनीबाट सामान ल्याए पनि प्रहरीले नियन्त्रणमा लिने गरेको आन्दोलनमा सहभागी अपाङ्ग नारायण शर्माले बताए । प्रमुख जिल्ला जिल्ला अधिकारीलाई जानकारी गराउँदा पनि १ हजारभन्दा बढीको सामान ल्याउन नपाउने भनेको सञ्जय मगरले बताए । सामान ल्याउन नदिने हो भने सरकारले गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सञ्जय थापामगरले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले कानूनमा तोकिएकोभन्दा बढी सामान ल्याउन नपाइने बताए । उनले भारतीय बजारबाट सामान ल्याउने विषय भन्सार कार्यालयको भए पनि कानूनभन्दा बाहिर कोही नभएकोले कानूनले तोकेअनुसार हुने बताए । आपाङ्गहरुसँग भएको छलफलमा पनि आफूले त्यही कुरा जानकारी गराएको बताए ।