इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–४ हरिनगरा बजारमा प्रहरीले बुधबार छापा मारेको छ । अवैध मलखाद राखिएको र किसानलाई गुणस्तरहीन मल बिक्री गरेको आरोप बाहिर आएपछि प्रहरीले छापा मारेको स्थानीय चन्दन मेहताले बताए । स्थानीय व्यापारीहरुले नेपाली र भारतीय मल तथा विषादी एउटाबाट अर्काेमा खन्याउने र किसानलाई ठगी गर्ने काम गरेको गुनासो बढेपछि प्रहरीले छापा मारेर लाखौंको अवैध मल बरामद गरेको हो । हरिनगराको ४ वटा पसलमा छापा मार्दा भारतीय मलको बोरामा नेपाली मल राखेको, नेपाली मलखादको बोरामा भारतीय कमसल मल राखेको, ७ सय प्रतिबोरा पाइने मल २३ सयमा बिक्री हुने मलको बोरामा राखेर कालोबजारी गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ५० बोरा बढी मल नियन्त्रणमा लिएको छ भने २ सय केजी बढी जिङ्क, फोरेड सहितका विषादीहरु बरामद गरेको बताएको छ । यता स्थानीयले भने प्र्रहरीले एकातिर नजराना लिने गरेको र अर्काेतिर छापा मार्ने काम गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सीमा प्रहरी र नेपाल प्रहरीले नजराना बुझेर सामान भिœयाउन दिएको, अर्काेतिर जिल्ला प्रहरीले छापा मारेकोमा स्थानीयले आपत्ति जनाएका छन् ।