पथरी । कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिले वृक्षरोपण कार्यक्रम गरेको छ । वनले बिहीबार तेस्रो सामुदायिक वन दिवस–२०७५ को अवसरमा चालिस बिघेमा रहेको वनको खाली १० हेक्टर जग्गामा विभिन्न जातका विरुवा रोपेको हो । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र विशेष अतिथि जिल्ला वन कार्यालय मोरङका अधिकृत डा. विनोद देवकोटाले टिक, मसलालगायतका विरुवा रोपेर उद्घाटन गरेका थिए । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले सामुदायिक वनको अवधारणाले स्थानीयमा टेवा पुगेको बताए । सामुदायिक वनको अवधारणा नभएको भए अझैसम्म गाउँ उजाडै हुने धारणा राखे । उनले भने ‘उति खेरा अहिलेको गाउँपालिकाको जस्तो बजेट हुँदैन थियो, साविक गाविसहरू वनबाटै विकास भएको थियो, सामुदायिक वन संरक्षणमा गाउँपालिकाले के गर्नु पर्छ हामी गर्नेछौँ ।’ वन अधिकृत डा. देवकोटाका अनुसार वन अब प्रदेश सरकार अन्तर्गत चल्ने र मोरङको पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा दुईवटा सब–डिभिजन कार्यालय हुने बताएका छन् । कार्यक्रममा जिल्ला वन महासङ्घ मोरङका अध्यक्ष अग्नि पौडेलले पनि बोलेका थिए । वृक्षरोपण कार्यक्रममा आदर्श बोर्डिङ स्कुलका र जनकल्याण माविका १ सयभन्दा बढी विद्यार्थीले वृक्षरोपण गरेका थिए । विरुवा रोप्नुुभन्दा अघि प्राविधिकले विरुवा कसरी रोप्ने, रोप्ने माटो कस्तो बनाउनु पर्ने, रोपी सकेर के गर्नु पर्ने भन्नेबारे जानकारी गराएका थिए । रोपिएको ठाउँमा घेराबेरा गरिएको छ । तारजाली घेराबार गरिएकाले विरुवा सतप्रतिशत उत्पादन हुने वनका अध्यक्ष नवीन राईले बताए । उद्घाटनको दिनमा ७ सय विरुवा रोपिएको छ । १० हेक्टरमा जम्मा १० हजार विरुवा रोप्ने वन समितिले जनाएको छ । सेक्टर वन कार्यालय बेलबारीका सत्रुधनलाल देव, जनजागृति सामुदायिक वन जहदाका अध्यक्ष पूर्णबहादुर अधिकारी, वडा नम्बर–७ का वडाध्यक्ष मोहन अधिकारी, ग्रामीण सुधार सामुदायिक वनका पूर्वअध्यक्ष हरि पौडेल, एमवि मगरलगायत अतिथि थिए । कार्यक्रमको अध्यक्षता वनका अध्यक्ष नवीन राईले गरेका थिए ।
सामुदायिक वन दिवसमा वृक्षारोपण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































