विराटनगर । नेस्ले कम्पनीको ‘माइलो जुस’ पिउँदा विराटनगरमा रहेको एक स्कूलमा अध्ययरत १५ जना विद्यार्थी विरामी परेका छन् । नेस्ले ईण्डिया प्रा.लि. ले उत्पादन गर्ने जुस पिउँदा विराटनगर – ३ मा रहेको बुढानिलकण्ठ उच्च माविका १५ जना विद्यार्थी शुक्रबार विरामी परेका हुन् । ‘नेस्ले कम्पनीले नयाँ उत्पादन ‘माइलो जुस’ को बजार प्रर्बद्धन गर्न भन्दै स्कूलहरुमा जुस वितरण गरेका थिए,’ स्कूलका संचालक बुद्धिबहादुर प्रधानले भने, ‘करिब २ सय ८० विद्यार्थीले जुस पिए । पिएको केही बेरमा १५/२० जना विद्यार्थीले वान्ता गरेपछि वितरणमा रोक लगायौं,’ उनले भने ।

जुस पिएको केही बेरमा अन्य विद्यार्थीहरुको पनि पेट दुख्ने समस्या आएपछि थप समस्या हुन नदिन नजिकको हस्पिटलमा भर्ना गरिएको स्कूलका संचालक प्रधानले बताए । यसरी विरामी पर्नेमा कक्षा ६ मा अध्ययरत रोजेश परियार, कक्षा ६ का राजेश दास, कक्षा ३ की एन्जल साह, सोही कक्षाका अन्सु साह, कक्षा ६ का अजय रन्ज कर्ण विरामी भएपछि उपचारको लागि विराटनगर स्थित विराट अस्पतालमा भर्ना गरिएको स्कूलले जनाएको छ । भर्ना भएका विद्यार्थीहरुलाई चिकित्सवको निगरानीमा राखिएको छ । चिकित्सवको अनुसार जुस खादा फुटपैजन भएको कारणले यस्तो समस्या आएको बताएका छन् ।

विधार्थीहरु बिरामी परेपछि प्रहरीले जुससहित बिक्रेता पक्राउ गरेको छ । विद्यार्थी विरामी परेपछि जल्ला मोरङ प्रहरीले जुस मार्केिटङमा निस्केका जिल्ला झापा कन्काई नगरपालिका – २ का २६ वर्षिय प्रदिप घिमिरे र विराटनगर ९ का ४८ वर्षिय महेन्द्र कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले को १ स ३५६ नम्बरको सिटी सफारीमा रहेको नेस्ले मिलो जुसका कार्टुनसहित कारवाहीका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाएका छ ।

बिरामी विधार्थीहरु मध्ये ५ जनाको उपचारको क्रममा विराट नर्सिङ अस्पतालमा रहेका छन भने अन्य स्थानीय मेडिकलमा उपचार पश्चात घर फर्केका छन् ।

नेस्ले कम्पनीको हालै बजारमा आएको नयाँ प्रोट्रक ‘माइलो जुस’ बजार प्रर्वद्धन गर्न विराटनगरको स्कूलहरुमा निःशुल्क जुस वितरण गर्दै आएको छ । बजार प्रवद्र्धन गर्ने भन्दै देश दौडान हिडेका कम्पनीले निःशुल्क वितरण गर्ने जुस कम गुणस्तरको हुने भएकोले यस्तो समस्या आएको जानकारहरु बताउँछन् ।