पथरीशनिश्चरे / नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले शुक्रबार दिउँसो झापाको दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् उपसचिव शालिकराम काफ्ले र विद्यालय निरीक्षक गणेश पौडेलमाथि हातपात गरेका छन् । हिमालय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भएको भेला शुरु हुनुअघि काफ्ले र पौडेलमाथि हातपात भएको हो । आफूहरुको माग विपरीत नगर शिक्षा नियमावली जारी गरिएको भन्दै सो को विरोध गर्दै आएका काङ्ग्रेस कार्यकर्ताहरुले कार्यक्रम शुरु हुनुअघि नै मञ्चमा आएर माइक लिई आफ्ना कुरा राखेका थिए । ढुण्डीराज भण्डारी, रोशन विष्टलगायतका काङ्ग्रेस नेता कार्यकर्ताहरुले काफ्लेलाई लछारपछार गरेको उल्लेख छ । आक्रामक भएका काङ्ग्रेस कार्यकर्ताहरुले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै शिक्षा अधिकृतसमेत रहेका काफ्लेलाई हातपात गरेको जनाइएको छ । भेलास्थल केहीबेर तनावग्रस्त  बनेको थियो ।