धरान/अवैज्ञानिक करविरुद्ध सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले धरानमा विरोधसभा गरेको छ ।

शुक्रबार धरानको लोकतान्त्रिक चौतारीमा कोणसभा गर्दै महँगी र करको विषयमा खुलेर विरोध गरे । मञ्चका केन्द्रीय सचिव एवम् जिल्ला इञ्चार्ज भूपेन्द्रसुन्दर लावतीले सरकारले महँगी बढाएर जनताप्रति अन्याय गरेको आरोप लगाए । उनले प्रदेश १ लाई लिम्बुवान प्रदेश नामाकरण गर्नु पर्ने दाबी गरे । अन्तरिम संविधानलाई टेकेर नै संविधान निर्माण भएकाले तात्कालीन समयमा ऐतिहासिकताको आधारमा प्रदेश १ लाई लिम्बुवान बनाउने सहमतिअनुसार नै नामाकरण गर्नुपर्ने बताए ।

कोणसभामा सङ्घीय सचिवालय सदस्य रमेश गजमेर, मञ्चकी जिल्ला महिला अध्यक्ष सरस्वती लिम्बूलगायतले अवैज्ञानिक कर खारेजी गर्नुपर्ने माग गरे । उनीहरूले लिम्बुवान प्रदेश नामाकरण नभए सशक्त रुपमा आन्दोलन गर्ने बताए । झापाको विर्तामोडमा पनि विरोधसभा गरेको छ । प्रदेश नम्बर १ लाई नामाङ्कन गर्दा लिम्बुवान, किरात खम्बुवान बनाउनुपर्ने, प्रदेश अधिकार सम्पन्न हुनुपर्ने माग गरेको छ । अरुण तेस्रोको शिलान्यास गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मात्र गरेकोप्रति आपत्ती जनाएको छ । मुख्यमन्त्री शेरधन राईलाई त्यो समयमा ‘बायस’ गरिनु प्रदेशलाई अधिकारविहीन बनाउँदै खारेज गर्ने षड्यन्त्र भएको ठहर लिम्बुवानको रहेको छ । ‘प्रदेशको अधिकार केन्द्रले खोस्दै गएपछि प्रदेशको अर्थ हुँदैन, पन्धाकले भने, ‘यो सबै सङ्घीयता मास्ने खेलमात्र हो ।’ मञ्चले झापाको विर्तामोडस्थित मुक्तिचोकमा शुक्रबार कोणसभा गर्दै अधिकारविहीन प्रदेश सरकारको कुनै अर्थ नरहेको बताए । उनले पहिचान विरोधी अहिलेको सात प्रदेश नमान्ने बताएको छ । आदिवासी जनजाति दिवस मनाउनु पर्ने भन्दै प्रदेश सरकारले गरेको निर्णय १४ वटै जिल्लाका प्रशासनले अवज्ञा गर्दै गर्दा २४ घण्टाभित्र विभागीय कारबाही गर्नु पर्ने वा नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्नेमा अहिलेसम्म कुनै पनि कदम नचालेर लाचार भएको आरोप लगाउँदै मञ्चले आपत्ति जनाएको छ ।

पार्टीले विभिन्न ११ बुँदे माग अघि सार्दै भदौ १० गतेसम्मको आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको विज्ञप्तिमार्फत् जनाएको छ । कार्यक्रममा मञ्चका उपाध्यक्ष नन्दकुमार विष्ट, ज्ञानबहादुर इम्वाङ तथा जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले आ–आफ्नो भनाइ राखेका थिए । मञ्चले देशव्यापी रूपमा यो अभियान सञ्चालन गरेको जिल्ला अध्यक्ष पन्धाकले बताए ।