विराटचौक । सगरमाथा आरोही पत्रकार रोशा बस्नेत गृह नगरमा सम्मानित भएकी छन् । जेठ ९ गते पत्रकारको टोलीबाट सगरमाथा आरोहण गरेका बस्नेत मोरङ सुन्दरहरैंचा निवासी हुन् । बस्नेतलाई शनिबार सुन्दरहरैँचा नगरपालिकाले सम्मानित गरेको छ । उनले सगरमाथामा मोरङ जिल्ला र सुन्दरहरैंचा नगरपालिकाको नक्सा तथा झण्डा फहराएकी थिइन् । उनको योगदानको उच्च मूल्याङ्कन गर्दै नगर प्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान–पत्रले सम्मानित गरे । नगरप्रमुख ढकालले प्रदेश १ कै गौरव तथा गरिमाको रूपमा रहेको सगरमाथामा चढ्न सफल भएकोमा नगरबासी गौरवान्वित बनेको बताए । सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन प्रवद्र्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरिन् । उनले सगरमाथाबाट ल्याएको एक सानो पत्थर र नगरपालिकाबाट आरोहणमा जानुअघि बस्नेतलाई दिइएको झण्डा र नगरपालिकाको नक्सा चुचुरोमा फहराएपश्चात् कोशेली स्वरुप नगरप्रमुखलाई हस्तान्तरण गरिन् ।