बिर्तामोड । क्षितिज नाट्य समुह झापाको छैटौ अधिवेशन तथा १७ औ बार्षिक साधारणसभा बिर्तामोडमा हुने भएको छ । समुहको ९ सदस्य कार्य समितिका लागि १५ सदस्यले उम्मेद्वारी दिएका छन् । भाद्र ११ गते हुने अधिवेशनका लागि १५ सदस्यले उम्मेद्वारी दर्ता गराएको समुहले सोमवार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । माधव कल्पित, सुजना खतिवडा, मुना प्रसाई, डिल्लीप्रसाद खरेल, सुरेश निरौला, सबिता रेग्मी, माधवप्रसाद सिटौला, भिमा खतिवडा, गजेन्द्र पृथक, हरिप्रसाद भण्डारी, राकेश दर्नाल, सिताराम ढुङ्गेल, मायादेवी सिटौला, ताराकुमार प्रसाई र कुवेरनाथ ढकालले उम्मेद्वारी दिएका छन् । यी मध्येबाट निर्वाच समितिले ९ सदस्य कार्य समिति चयन गर्ने क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पितले पत्रकार भेटघाटमा जानकारी दिए । नाट्य समुहलाई बिर्तामोड–५ का मनोज निरौलाले बिर्तामोड–१ को ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गरका छन् । सो जग्गा व्यवसायी रंगमञ्चको विकास गर्दै सवै जातजाती तथा भाषाभाषिको सामुहिक अपनत्व कायम हुने गरी बृहत साँस्कृतिक सग्रालयसहितको ३ तले झापा नाटकघर निर्माण गर्ने योजना रहेको अध्यक्ष कल्पितले बताए । समुहको नाट्य अभियानबाट बचत भएको ५ लाख रुपैयाँले खेतीयोग्य २ बिगाहा जमिन ब्याजमरनीमा लिई अर्गानिक खेती ब्यवसाय सञ्चालन गरिरहेको उनले बताए । समुहको प्रदेश नम्बर १ मा रहेको १८ वटा शाखामा ५ सय ५२ जना सदस्य रहेपनि ४४ जनाले मात्र निर्वाचनमा मतदान गर्न पाउने प्रावधन रहेको उनको भनाई छ । २०५८ सालमा इलाम, झापा र पाँचथरका युवाहरुको सामूहिक भेलाद्धारा फिदिममा संस्थाको स्थापना गरिएको थियो । साथै अधिवेशनमा झापाका ५ जना सञ्चारकर्मीलाई समेत सम्मान गर्ने जनाइएको छ । सम्मानीत हुनेहरुमा सुब्रत न्यौपाने, तुलसी निरौला, सुरेन्द्र भण्डारी, लक्ष्मी काफ्ले, रमेश तिवारी रहेका छन् ।