पानवारी । ट्राफिक प्रहरीमाथि हातपात गर्ने दुई भारतीय नागरिक आइतबार पक्राउ परेका छन् । धरानको तीनकुने चेकपोष्टमा चेकजाँचको क्रममा ट्राफिक प्रहरीमाथि हातपात गर्ने विहार मधुवनी–१४ का देवकान्त ठाकुर र भद्रेतकुमार झालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा बिआर ३२ पिए २८३२ नं. को भारतीय स्कोरपियोका चालकले सिटबेल्ट नलगाएको भेटेपछि डिउटीमा रहेको ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गराएका थिए । जरिवाना तिर्दा भारु ५ सय तिरेका उनीहरुलाई ट्राफिक प्रहरीले नेरु ३ सय फिर्ता दिदाँ भारु नै फिर्ता हुनुपर्ने भन्दै निहुँ खोजेको ट्राफिक इन्स्पेक्टर होमराज दाहालले बताए । उनीहरुले डिउटीमा रहेका ट्राफिकलाई हातपात गरेपछि सार्वजनिक बसका यात्रुले ट्राफिकलाई जोगाएर भारतीयलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको एक प्रत्यक्षदर्शीले बताए । ठाकुर र झा भारतको मधुवनीबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको इन्ट्रान्स परीक्षामा छोरालाई सामेल गराउन आएका हुन् । उनीहरुमाथि कारबाही अगाडि बढाउन म्याद थप गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार डिउटीमा बाधा पने गरी हुल हुज्जत गरेको आरोपमा मुद्दा चलाई कारबाही अगाडि बढाइनेछ । यस्तो कसुर गर्नेलाई अपराध संहिता २०७४ अनुसार १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।