सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाबाट १४ घर परिवारको बस्ती जोखिममा परेको छ । आयोजनाको ड्याम साइड निर्माणस्थल मकालु गाउँपालिका–३ मा रहेको नयाँ बस्ती जोखिममा परेको हो । सुरुङ निर्माणका क्रममा बस्तीमुनीको चट्टान फुटाउँदा र चट्टान फोर्न विष्फोटक पदार्थ पड्काउँदा जमिन चिरिएर पहिरो जानसक्ने स्थितिमा पुगेकाले जोखिम बढेको आयोजनाले जनाएको छ । आयोजनाले निर्माण कार्य गर्दा अन्य क्षेत्रमा पनि असर पुग्ने र मानवीय क्षति हुनसक्ने भएपछि बस्तीलाई सुरक्षित स्थानमा सार्न लागेको छ । कुनै पनि बेला पहिरो जाने र मानवीय जोखिम बढ्ने भएकाले गाउँपालिका कार्यालय र स्थानीयले सुरक्षित स्थानमा सारिनुपर्ने आयोजना सञ्चालक सतलज कम्पनीलाई पटक–पटक माग गरेका थिए । बस्तीका १४ घरपरिवारमध्ये दलबहादुर राई, मेघराज राई, नरेश राई, रुकमान राई र मेघनाथ राईको परिवार पूर्ण विस्थापितमा परेको गाउँपालिकाले जनाएको छ । यी ५ परिवारलाई मुआब्जा दिएर स्थायी रूपमा सारिनेछ । तर ९ घरपरिवारलाई तत्कालका लागि आवास निर्माणमा लाग्ने खर्च उपलब्ध गराउने र स्थानान्तरण गरिनेछ भने आयोजनाको निर्माण कार्य सकिएपछि उनीहरु सोही स्थानमा बस्न सक्ने बताइएको छ । सो बस्तीको जमिन आयोजनाले आवश्यकताअनुसार मुआब्जा दिएर अधिग्रहण गर्ने जनाएको छ । निर्माण कार्यले असर पर्ने सम्भावित क्षेत्रमा सतलज कम्पनी र लगानी बोर्डले चिचिला र मकालु गाउँपालिकाका अध्यक्षसहितको टोली लिएर साउन ३१ बाट अनुगमन शुरु गरेको छ । यसअघि नै पावरहाउस निर्माणस्थल जाने अरुण तेस्रो प्रवेशमार्गबाट ५ घर विस्थापित भइसकेका छन् तर उनीहरुले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् ।