रङ्गेली । सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेशको नामाङ्कन २ नम्बर प्रदेशबाट शुरु गर्नुपर्ने बताएका छन् । सुनसरीको इटहरीबाट पैदल विराटनगर आइपुगेको ¥यालीलाई सम्बोधन गर्दै लिङ्देनले पहिचानको आन्दोलन गर्ने प्रदेश २ को पहिला नाम राखेर मात्र प्रदेश १ को नामाकरण गर्नुपर्ने बताए । ‘पहिचानको लागि धेरै सङ्घर्ष गर्ने प्रदेश २ लाई नाम राख्न कुनै हतारो छैन’ उनले भने, ‘प्रदेश १ को नाम राख्न हामीलाई किन हतारो ?’ सबै आदिवासीहरुको घाँटी काटिसकेपछि प्रदेश २ को नाम राख्ने दाउमा सरकार रहेको उनले बताए । उनले ओली सरकारले प्रदेश २ को लागि मध्यदेश, मिथिला, मिथिला जनकपुरमध्ये कुनै एउटा राख्ने तयारी गरिरहेको खुलासा गरे । सुनसरीको इटहरीबाट लगभग सढे ८ बजे शुरु भएको मञ्चको मार्चपास(पैदल यात्र) ५ बजे विराटनगरमा कोणसभा गरेर टुङ्गिएको थियो । कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पोखरामा गुरुङ मगरलाई बाइपास गरेर गण्डक राखिएको हुँदा त्यहाँ जनआक्रोस बढेको जिकिर गरे । त्यसैगरी काठमाडौंमा नेवारहरुलाई बाइपास गरेर बागमती राख्न लागिएको बताए । उनले ओली सरकारले आदिवासी जनजातिको पहिचान मेटाउन लागेको आरोपसमेत लगाए । विराटनगरको जनआन्दोलन चोकमा भएको कोणसभालाई सम्बोधन गर्र्दै अध्यक्ष लिङ्देनले प्रदेश १ लाई लिम्बुवान र किरात खम्बुवान जबरजस्ती घोषणा गर्न सकिँदैन भने सगरमाथा र कोशी पनि जबरजस्ती घोषणा नगर्न प्रदेश सरकारलाई सुझाव दिए । ‘बरु प्रदेश १ नै कायम रहन दिउँ’ उनले भने, ‘यदि जबरजस्ती सगरमाथा र कोशी घोषणा गरे आन्दोलन पक्का छ ।’ आदिवासी जनजातिको चाडमा सर्वजनिक बिदा नदिने प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न नसक्नु मुख्यमन्त्री शेरधन राईको लाचारीपन भएकोले राजीनामा दिएर घर बस्न सुझाए । यस्ता लाचार मुख्यमन्त्रीले प्रदेश १ को लागि केही गर्न नसक्ने ठोकुवा गरे । कोणसभामा महासचिव आशोक चेम्जोङ, सांसद् विष्णु तुम्बाहाम्फे, सचिवालय सदस्य रमेश गजमेरलगायतले सम्बोधन गरेका थिए । मञ्चले भदौ ७ गते प्रदेश १ को संसद् भवनमा धर्ना दिने र १० गते राँकेजुलुस गर्ने जनाएको छ ।