पानवारी । पिण्डेश्वर धाममा यसवर्ष चारलाख भक्तजन सहभागी भई जल अर्पण गरेको पिण्डेश्वर बाबाधाम समितिले दाबी गरेको छ । सोमबार सञ्चारकर्मीसँग भेटघाट गर्दै पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले पूर्वी नेपालको झापादेखि पश्चिम कञ्चनपुरसम्मका भक्तजनको आगमन भएको बताए ।
उनले पिण्डेश्वर बाबाधाममा गतवर्षदेखि शुरु भएको महाआरतीलाई पिण्डेश्वर आरतीको रूपमा स्थापित गरेको बताए । पिण्डेश्वर बाबाधाममा गरिएको पिण्डेश्वर आरतीबाट मात्रै २ लाख ३५ हजार आर्थिक सङ्कलन भएको जानकारी दिइएको छ । पिण्डेश्वरमा यसवर्ष सिसी क्यामेरा जडान गरेपछि धामको दर्शन गर्ने तथा जल अर्पण गर्ने तीर्थालुले थप सुरक्षित महसुस गरेको पिण्डेश्वर बाबाधाम समितिका सदस्य वासुदेव बरालले बताए । बरालका अनुसार धरानलाई धार्मिक पर्यटनको शहरको रूपमा विकास गर्न पिण्डेश्वर बाबाधामपरिसरमा धरान आसपासका अन्य धार्मिक क्षेत्रको चित्र अङ्कित बोर्ड राखिएको बताए । उनले धरानको दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, शिवजट्टा, नमस्ते झरना लगायतका स्थानको चित्र अङ्कित बोर्ड राखेपछि उक्त क्षेत्रमा समेत पर्यटकको संख्या बढेको दाबी गरे । पिण्डेश्वर बाबाधाम समितिले ७ लाख ४४ हजार ८ सय सहयोग रकम प्राप्त भएको, बजार व्यवस्थापनबाट ६४ हजार र पिण्डेश्वर आरतीबाट २ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको सोमबार सञ्चारकर्मी भेटघाट कार्यक्रममा सार्वजनिक गरेको थियो । पिण्डेश्वरमा आगामी वर्षमा तीर्थालु भक्तजनको संख्या नाप्न काउण्टिङ मेसिन राख्ने योजना गरेकोसमेत समितिका अध्यक्ष बनेपालीले बताएका थिए ।