दमक । झापाको दमक नगरलाई ‘हरित नगर’ बनाउने अभियान अघि बढेको छ । नगरपालिकाले जनप्रतिनिधि आउनु पूर्व केही वर्षअघिबाट हरित नगर बनाउने योजना अघि सारे पनि यस बेलामात्र यसको कार्यान्वयन अघि बढ्न थालेको छ । नगरपालिका कार्यालयले हरित नगर बनाउने योजना कार्यान्वयनका क्रममा वडा नम्बर–३ मा आफैँले नर्सरी राखेर बिरुवा उत्पादन र वितरण थालेको छ । बकाइनो, रामकाठ, खमारी, टिक, मसला, मलेसियन सखुवा, जामुन, सिसौ, खयर, लटरलगायतका डेढ लाखको सङ्ख्यामा बिरुवाहरू नर्सरीमा उत्पादन भएको ३ नम्बर वडा सचिव सञ्जीव सुवेदीले जनाए । उनले एकसातामा सङ्घ–संस्था र व्यक्तिले गरी ८ हजार २ सय बिरुवा लगेको बताए । बाहिरबाट विरुवा ल्याउँदा महँगो पर्ने तथा आवश्यकताअनुसार बिरुवा नपाइने भएपछि नगरपालिका आफैँले नर्सरी लगाएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सुनाए । उनले यो वर्ष करिब २० लाखको लागतमा नर्सरी निर्माण गरिएको र आवश्यकता अनुरुप विरुवा उत्पादन गरिरहने पनि जनाए । वातावरण संरक्षण, खोला नियण्त्रण, सरकारी खाली जमिनको सदुपयोगका लागि पनि वृक्षरोपण जरुरी भएको नगरपालिकाले ठहर ग¥यो । ‘सुन्दर हरित नगर बनाउने उद्देश्यले नगरका प्रत्येक बाटाहरूमा विरुवा अनिवार्य रोप्ने अभियान स्वरुप विरुवा वितरणको अभियान थालिएको छ,’ उनले भने ‘कम्तिमा पनि एक घर एक विरुवा अभियानको क्रममा छौँ ।’ एकजना प्राविधिक कर्मचारी राखेर विरुवा उत्पादनको काम भइरहेको छ । बिरुवा हुर्काउने शर्तनामा बिरुवा लानु मात्र होइन त्यसको उचित संरक्षण गर्नुपर्ने दायित्व लाने र रोप्ने पक्षसँग रहने नगरपालिकाले प्रावधान बनाएको छ । नगरपालिका तथा वडा कार्यालयको सिफारिसमा बिरुवा वितरण गरिन्छ । सङ्घ–संस्थाको सिफारिस आएमा कार्यालयले निशुल्क र व्यक्तिका लागि प्रति बिरुवा २ रुपैयाँ लिएर वितरण हुन्छ । तर विरुवा लाने पक्षले विरुवा हुर्काउने जिम्मा लिने र लापरबाही गरेर विरुवा हुर्किएन भने जरिमानासमेत गराउन सक्ने भनी कागजमा सहीछाप गराइन्छ । बिरुवाको नगरपालिकाले स्थलगत अनुगमन गर्ने नगरपालिकाका वातावरण शाखा अधिकृत ज्ञानेन्द्र चौधरीले बताए । उनले नगरमा रहेका टोल विकास संस्थाहरूसमेतको सहकार्यमा वृक्षरोपण अभियान अघि बढाइएको जनाए । ‘मिलेसम्म सडक किनारामा सबैतिर बिरुवै रोप्ने, ठाउँ नभएको क्षेत्रमा पनि ड्रेनमाथि गमलामा भएपनि बिरुवा रोप्नै पर्ने योजना बनाएका छौं ।’– उनले भने ।
ड्रेनमाथि गमलामा पनि विरुवा पछिल्लो विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिका कार्यालयले विरुवा किनेर बसपार्कलगायतका सडक किनाराका लागि समी, अशोक, रुद्राक्षलगायतका २ सय विरुवा रोप्यो । त्यही सन्दर्भमा सङ्घ–संस्थालाई समेत गरी आँप, लिच्ची, कटहरसहितका ३ सय फलफूलका बिरुवा पनि वितरण भए । वृक्षरोपण अभियान गमलासम्म आइपुगेको छ । नगरपालिकाले दमकको पुरानो बजारस्थित ‘नमुना बजार’ र आसपासका सडकमा ७० वटा सिमेन्टका ठूला गमलामा सदाबहार फूलका विरुवा रोप्ने काम गरेको छ । स्थानीयको सहकार्यमा सो ठाउँलाई आकर्षक बनाएको छ । दमक उद्योग वाणिज्य सङ्घले मुख्य चोकको दुवैतर्फ ड्रेनमाथि गमलामा सोही प्रकारका फूलका १ सय विरुवा गमलामा उसैगरी रोपेर फरकखाले आकर्षण देखाएको छ । त्यसअघि नगरपालिका र उद्योग वाणिज्य सङ्घले बसपार्क उत्तर १ सय ७० वटा गमलामा फूलका विरुवा रोपेको थियो । २ सय ७० गमलाका बिरुवाका लागि डेढ लाख हाराहारी खर्च भएको वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालले बताए ।