धनकुटा । धनकुटा–७ चिरबिरे चौतारा घर भएका चित्रकार ६२ वर्षीय डिल्लीकृष्ण आलेले वडा नं. ६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र फोकल्याण्ड टापुलाई क्यान्भासमा उतारेका छन् । झण्डै साढे तीन दशक निजामती सेवाबाट निवृत्त आलेको जीवनको उतरार्ध दैनिकजसो रङ्ग र कुचीसँगै बित्दै आएको छ । १५÷१६ वर्षको उमेर देखि चित्रकलामा रमाउँदै आएका आले जागिरे जीवनमा समेत सक्रिय थिए । झन् निवृत्त भएपछि त चित्रकलामा उनको सक्रियता बढेको छ । जागिरबाट अवकास भएपछि घरैमा आराम गरेर खुम्चिएर बस्नु पर्ने मान्यता उनी राख्दैनन् । अहिले उनी पछिल्लो २ वर्षदेखि दिनहुँ जसो विभिन्न स्थानमा स्थलगत रूपमा दृश्य चित्र (ल्याण्ड स्केच) उतार्न व्यस्त छन् । आफ्नै गाउँबस्तीको जीवनशैली, मूर्त–अमूर्त तथा अर्धमूर्त र अनुहारका चित्र (पोर्टेट) बनाउन पनि उत्तिकै सिद्धहस्त छन् । पछिल्लो सयम चित्रकलाको माध्यमबाट धनकुटा नगरपालिका क्षेत्रको धार्मिक, साँस्कृतिक एवम् भौगोलिक रूपमा अवस्थित पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरी पर्यटनको प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको आलेले बताए । उनले आफ्नो कलालाई जीवन्त राख्नका लागी चर्चित वाटर कलरबाट पेन्टिङ गर्दै आएका छन् । हालसम्म उनले पूर्वको मोरङ बेलबारीको वेतना सिमसार, याङसिला, सुनसरीको धरान आसपासको प्राकृतिक छटाहरूका आकर्षक चित्र कोरि सकेका छन् । उनलाई स्थलगत रूपमा पुगेर क्यान्भासमा चित्र उतार्दा छुटै आनन्द लाग्ने गरेको बताउँछन् । उनले शुरुमा स्वअध्ययन गरे । पछि, चित्रकलामा गुरु भने धरान मङ्गलबारे घर भएका चर्चित राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति प्राप्त वरिष्ठ चित्रकार लेख मगरको प्रेरणाबाट चित्रकला सिकेको बताउँछन् । अहिले पनि निरन्तर रूपमा आफ्ना गुरु लेख मगरबाट प्रेरणा पाइरहेको आलेले बताए । यसै क्रममा आलेले धनकुटा–६ स्थित फोक्ल्याण्ड टापु टोलबस्ती सङ्गठनमा पर्ने दक्षिणकाली मन्दिर र सिङ्गै टोलको चित्र क्यान्भासमा उतारेका छन् । उनले फोकल्याण्ड टापु टोलबस्ती र सो टोलमा पर्ने दक्षिणकाली टोलको प्रचार–प्रसार गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको बताएका छन् । उनले दक्षिणकाली मन्दिर क्षेत्र वि.सं. १९४४ सालताका राणा प्रधामन्त्री जङ्गबहादुर राणाको पालादेखि हालसम्म पनि रहिरहेकाले ऐतिहासिक धार्मिक स्थल भएको औँल्याए । सो समयमा राणा प्रधामन्त्री जङ्गबहादुर राणाले दक्षिणकाली रथयात्रा धनकुटा बजारमा सञ्चालन गर्ने गरेको, बाघको शिकार गर्न बाघखोर निर्माण गरेको र अहिले पनि बाघखोरको अवशेष दक्षिणकाली मन्दिर परिसरमा रहेको बताउँछन् । ऐतिहासिक धार्मिक स्थललाई प्रचार–प्रसार गरेर फोकल्याण्ड टोलमै पर्यटकलाई आकर्षणको गन्तव्य बनाउन सकिने तर्क आलेको छ । सदरमुकाम धनकुटा बजारबाट नजिकै रहेकाले पनि फोकल्याण्ड टापु र दक्षिणकाली मन्दिर धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने आलेको दाबी छ । ओझेलमा परेका चित्रकार आले अहिलेको युवा पुस्तालाई चित्रकला प्रति मोह जगाएर मार्गदर्शकको रूपमा काम गरेर देखाउन चाहन्छन् । शुक्रबारमात्र आलेको एक साता लामो धनकुटा बजारमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । कलाकार आलेले पानी चित्र, पेन्सिल र अन्य प्रकारका ६५ वटा चित्र प्रदर्शनी कक्षमा समावेश गरेका थिए । कलाकारिताको माध्यमले राष्ट्रिय स्तरको सम्मान तथा मेडल प्राप्त गरिसकेका उनी सकुञ्जेल सक्रिय रूपमा चित्रकला क्षेत्रमा लागिरहने बताउँछन् । प्रदर्शनीमा अधिकांश संस्कृति, मठमन्दिर, चौतारी, गाउँ बस्ती, शहर गल्ली, अनुहार चित्रलगायत समावेश गरेका थिए । ‘रङ्ग र कुचीसँगै भाव पक्षलाई समेटेर चित्र उतार्नुको मज्जा नै बेग्लै हुन्छ’ उनले भने, ‘जीवनसँग जोडिएका चित्र धेरैले मन पराउने हुँदा यसैलाई प्राथमिकतामा राख्ने गर्छु ।’ यो आलेको पहिलो एकल चित्रकला प्रदर्शनी हो । प्रदर्शनी हाम्रो बहुमुखी पाठशालाले संयोजन गरेको थियो । प्रदर्शनीको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका थिए । मदन चोक नजिक पाठशालाको भवनमा राखिएको प्रदर्शनीमा धनकुटा नगर क्षेत्रका विद्यालयका छात्रछात्रा र दर्जनौँ सर्वसाधारणले प्रदर्शनी कक्षको दैनिक जसो अवलोकन गरेको संयोजक सरोज भुजेलले बताए ।