मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाले करको दररेट ५० प्रतिशत घटाएको छ । गत असारमा सम्पन्न दोस्रो गाउँसभाबाट परित करको दर बढी भएको जनगुनासो आएपछि गाउँपलिकाको राजस्व परामर्श समितिको बैठकले ५० प्रतिशतले घटाएर दर रेट संशोधन गरेको छ । गत साउन २८ गते बसेको राजस्व परामर्श समितिका बैठकले सो निर्णय गरेको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा राजस्व परामर्श समितिका संयोजक सरला राईले बताइन् । संशोधन गरिएको करको दरमा उर्लाबारी मधुमल्ला मूल सडकले भेटेका पक्की घरहरूको प्रतिवर्ग फिट १ दशमलव ५० रुपैयाँ, अन्य सहायक सडकले छोएका घरहरूको प्रति वर्गफिट १ रुपैयाँ, पिलर भएको जस्ताको छाना भएको घर एकमुष्ठ ५ सय रुपैयाँ, पिलर नभएको इटा, ढुङ्गाको वाल र जस्ताको छाना भएको घर ४ सय, काठको खम्बा जस्ताको छाना भएको घर ३ सय, काठको खम्बा खरको छाना भएको घर २ सय र अन्य सामान्य प्रकारका घरहरूमा १ सय रुपैयाँ कायम गरेको छ । यस्तै विपन्न असाहय विद्यार्थी छात्रवृत्ति सिफारिस, अपाङ्ता भएकाको सिफारिस, स्वास्थ्य उपचारको सिफारिसलगायत निशुल्क गरेको छ । जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्धबिच्छेद, विवाह दर्ता ३५ दिनभित्र निःशुल्क र ३५ दिन कटे ५० रुपैया लाग्ने छ । यस्तै सवारी साधन करमा बस, ट्रक, लहरी र हेभ्भी गाडी वार्षिक ३ हजार, भाडाका कार, जीप, निजी कार र मयुरी २ हजार, स्कुटर, मोटरसाइकल, सिटी, टेम्पो ५ सय र ठेलागाडा तथा रिक्सा १ सय दररेट तोकिएको छ । सबै भन्दा बढी कर क्रसरलाई १० हजार र हार्डवेयर पसललाई रु ७ हजार तोकिएको छ ।